अल्छी उपचार जाँगरिलो कोरोना



भगवती तिमल्सिना, काठमाडौं ।

गत वर्ष सरकारले तुलनात्मकरूपमा बढी सक्रियता देखाएको, स्वास्थ्यकर्मी पनि विभिन्न अभावका बाबजुद अग्रिम मोर्चा सम्हालेका कारण कोरोना भाइरसको महामारी न्यून देखिएको तर यस वर्ष यो आँधी बनेर आउन सक्ने त्रास विज्ञहरुले देखाएका छन् । ‘पहिला बिरामीको उपचार गर्दा निको हुन्थ्यो र खुसी लाग्थ्यो तर यो वर्ष बिरामीमा सुधार हुने अनुपात घट्दो छ ।’ –विज्ञ डाक्टरहरु चिन्तित छन् ।

गत वर्षको कोरोनाले सरकारलाई केही सिकाएन

डा. लोचन कार्की/ अध्यक्ष, नेपाल चिकित्सक संघ

गएको २०७७ सालमा पनि चीन, अमेरिका हुँदै भारतमा कोरोना संक्रमण बढेको एक महिनापछि नेपालमा यसको असर देखियो । भारतमा अहिले दिनमै ३ लाखभन्दा बढीको संख्यामा कोभिड संक्रमित भइरहेका छन् । विभिन्न मुलुकहरु कोभिड बढेकै कारण लकडाउनमा गइरहेका छन् । नेपालमा पनि दिन–प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । यस अवस्थामा लक्षित वर्गमा पीसीआर परीक्षण भएकै छैन र सम्पर्कमा आएका व्यक्तिको अनुगमन पनि भएको छैन ।गत वर्षको अवस्थाबाट सिकेर नेपाल सरकारले यसपटक झन् राम्रो काम गर्ला भनेको, दोस्रो लहर आउँदा पनि पहिलोपटकमा जे–जे गल्ती भएका थिए, त्यही दाहो-याइरहेको छ । बोर्डरमा स्वास्थ्य सुरक्षा परीक्षण जम्मा २४ वटा नाकामा त्यो पनि देखावटीजस्तो भएको छ ।

स्थानीय निकाय पहिलो महामारीमा जस्तो सक्रिय भएकै छैन । आइसोलेसन, स्वास्थ्यकर्मीहरुलाई व्यवस्था मिलाउने विषय, आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, बिरामीका लागि नभई नहुने भवन थप्ने, जनशक्ति व्यवस्थापन गर्ने विषयमा सरकारलाई नै सचेत गराउनुपर्ने अवस्था देखिन्छ ।स्वास्थ्यकर्मी अत्यन्तै उत्साहित भएर काम गर्ने अवस्था पनि छैन । विगत वर्षमा कतिपय आफैं संक्रमित भए, परिवार संक्रमित हुनुका साथै कतिले परिवारका सदस्य गुमाए । चिकित्सक स्वास्थ्यकर्मी, कर्मचारीलाई सरकारले दिन्छु भनेर घोषणा गरेको भत्ता अहिलेसम्म दिएको छैन ।शहर बजारको भीडभाडमा मास्क नलगाउनेको संख्या बढ्दो छ ।

कोरोना संक्रमितको संख्या दिनमै ३ हजारभन्दा बढी हुनुका साथै कोरोना महामारीपछिको मृत्यु दरमा आइबारको रेकर्ड २८ पुग्यो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो ।यति बेला यूके भेरियन्ट, डबल म्युटियम भेरियन्ट आएको छ । यो अझ डरलाग्दो विषय हो । यसको सर्ने दर अत्यन्तै बढी छ । अहिले बालक र वृद्धवृद्धामा उच्च संक्रमण दर देखिनुका साथै मृत्युदर पनि बढ्दो छ । यति बेला संक्रमित बढेको क्षेत्र पहिचान गरी लकडाउन गर्नुको विकल्प छैन ।

समयसापेक्ष कार्ययोजना आवश्यक

डा. भूपेन्द्र बस्नेत, /अध्यक्ष, अमेरिका नेपाल फाउन्डेसन

अमेरिका नेपाल फाउन्डेसनले गत वर्ष कोभिडका समयमा स्वास्थ्यकर्मीलाई लक्षित गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि जनचेतनामूलक शिक्षा, तालिम दिनेलगायतका विभिन्न सामग्री उपलब्ध गराउने काम गरेका थियौं । दोस्रो लहर देखिरहँदा त्यसैलाई निरन्तरता दिँदै आएका छौं ।सरकारले अबका दिनमा के गर्नुपर्छ भन्ने विषयमा विज्ञहरुसँग बुझेर समयसापेक्ष कार्ययोजनासहित अघि बढ्नु जरुरी छ ।

भारतको नियति नेपालमा निश्चित

प्राडा जनक कोइराला, /स्वास्थ्य विज्ञ

कोभिडको महामारी भारतमा आएपछि नेपालमा पनि आउँछ भन्ने कुरा विगतको अनुभवले हामीले बुझिसकेका छौं । खुला सिमानाबाट हामीले हाम्रो देश र नागरिकलाई बचाउने कि नबचाउने ?हाम्रो देशमा पसिसकेको कोरोना भाइरसलाई कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा तयारी गर्नु जरुरी छ । यसमा प्रमुख भूमिका सरकार र नागरिककै हुन आउँछ । विगतका दिनमा पनि डर, त्रास, भयले भए पनि नागरिकले बचावटका उपाय अपनाएकै कारण विश्वका अन्य मुलुकहरुमा भन्दा संक्रमण र मृत्युदर कमै थियो । तर, अहिले त्योभन्दा विकराल अवस्था आउँदै छ । खोप लगाएकालाई कोरोना लाग्दैन भन्ने सोच्नु गलत हो । खोप लगाउँदा जोखिम कम हुन्छ भन्ने मात्र हो । यो रोग र खोप दुवै नयाँ भएकाले दुवै विषयमा थप अनुसन्धान हुँदै छ र ठोस परिणाम नआई अन्दाजमा जनस्वास्थ्यमाथि लापरबाही गर्नुहुन्न । अन्तर्राष्ट्रियरूपमा नयाँ प्रजातिले र खोपले के–कस्तो असर पारेका छन् भन्ने बारेमा विश्व स्वास्थ्य संगठनले औंल्याएका विज्ञान प्रविधिको आधार मान्नुपर्छ ।

फेबु्रअरीमा कोरोना संक्रमितको संख्यामा कमी आएको अवस्थामा हामी खुसी साट्न थालिसकेका थियौं । त्यो ठीक भएन । यति नै बेला होटल, रेस्टुरेन्ट, विद्यालय, कलकारखाना एकैपटक शुरु भयो । संक्रमित बढे, त्यससँगै मृत्यु पनि ह्वात्तै बढेर गएको छ । छिमेकी मुलुकमा संक्रमितको संख्या अत्यधिक बढेको छ । यो अवस्थालाई हेर्दा हामी निकै डराउनुपर्ने हुन्छ ।गत वर्ष एक दिनमै २० देखि २५ हजारको हाराहारी परीक्षण हुन्थ्यो अहिले परीक्षण नै कम छ र पनि संक्रमितको संख्या उच्च रहेको छ । संक्रमणले इम्युनिटी सिस्टमलाई कमजोर बनाउने मात्र नभई खोपले पनि काम नगर्ला कि भन्ने डर छ । त्यसैले हरेक मानिसले आफैंले सुरक्षा अपनाउनुपर्छ । अहिले देखिएको नयाँ प्रकारको कोरोना भाइरसले बढी मात्रामा बालबालिकालाई असर गरेको छ ।पछिल्लो समय भारतमा संक्रमितको संख्या बढेसँगै कतिले अक्सिजन नपाएर मृत्युवरण गरिसकेका छन् । नेपालमा पनि त्यो अवस्था आउन सक्छ । सरकारले समयमै औषधि र अक्सिजनको व्यवस्था गर्नुपर्छ ।

कोरोनाको गलत परिभाषा गरियो

डा. हेमन्त ओझा, /इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

कोरोना संक्रमणको शुरुका दिनदेखि नै काम गर्दै आएको छु । सरुवा रोगमध्ये धेरै जानकारी नै हुँदैन । डा. एन्थोनी फोक्सीले कोरोनाका विषयमा पहिला धेरै व्याख्या गर्नुहुन्थ्यो तर अहिले अनुमान गरेभन्दा फरक परिणाम आएपछि बोल्नै छोड्नुभएको छ । त्यसरी नै अहिले हामी सबैले विद्यालय बन्द गर्नुपर्छ, विद्यालयमा संक्रमण छ भनिरहेका छौं । तर, स्कुल नै कोरोनाको पहिलो केन्द्रबिन्दु हो भन्ने कुनै आधार छैन । विद्यालयमा जाने बालबालिका समुदायबाट मात्र जान्छन् । यसको अर्थ अब नेपालका समुदाय कोरोना संक्रमणले भरिए र विद्यालय मुख्य केन्द्र बन्दै छन् भन्दै छौं । तर, हामी बुझ्दैनबुझी परिभाषा गर्दै छौं । हिजो सार्ने क्रम कम थियो । आज सर्ने क्रम बढ्दै गएको छ । यसलाई राजनीतिक आँखाले हैन विज्ञानको आँखाले हेरिनुपर्छ । अहिले र पहिलाको परिभाषा एकै तरिकाले गर्नुहुन्न । म र श्रीमती सँगै थियौं मलाई भयो श्रीमतीलाई भएन भनेर गर्व गर्नेहरुले सोच्ने बेला आएको छ । आज सबै संक्रमित हुँदै छौं ।

पहिला यूके भेरियन्ट यूकेबाट आएकै हो । त्यसैले यूकेबाट आउने व्यक्तिबाट नमुना संकलन गरेर काम गर्न थाल्यौं । अहिले यूके भेरियन्ट, डबल म्युटियन, पुरानो कोरोना भाइरस फैलिएको छ । माक्स नलगाउने, भीडभाडमा जमघट गर्ने, डान्स, बार, रेस्टुरेन्ट, फिल्महल जस्ता भीडभाडमा जाने र सुरक्षा नअपनाउने युवापुस्ता धेरै संक्रमित हुँदै छन् । सरकारले नियम फेरेको छैन, हामी आफैं नियमको पालना नगरी माक्स फालेर खुलेआम हिँड्दै छौं । नाकाहरुमा एन्टिजेन परीक्षण गर्दा, विदेश जानेमा परीक्षण गर्दाको दाँजोमा विदेशबाट नेपालमा आउनेले दैनिक ८ प्रतिशतभन्दा बढी भाइरस नेपाल भित्र्याउँदै छन् ।सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाइका साथ लागू गर्नुपर्ने र भीडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नुपर्छ । मेडिकल कलेज तथा निजी अस्पतालहरुसँग समन्वय गरी आईसीयू कक्ष, अक्सिजन तथा आइसोलेसन वार्डको यथाशीघ्र व्यवस्था मिलाउनुपर्छ ।

कहिल्यै चेतेनौं

डा. अनुप बास्तोला/ प्रमुख कन्सल्टट्यान्ट, टेकु अस्पताल

अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम टार्नका लागि तपाईं–हामी सचेत र चनाखो हुनैपर्छ । यति बेला मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आईसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । टेकु अस्पताल पूरै कोरोना संक्रमित गम्भीर प्रकृतिका बिरामीले भरिइसक्यो । वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा बेड भेटिँदैन ।

गत वर्ष बिरामीको उपचार गर्दा निको हुन्थ्यो र खुसी लाग्थ्यो तर यो वर्ष बिरामीमा सुधार हुने अनुपात घट्दो छ । नेपालको अवस्था अत्यन्तै डरलाग्दो अवस्थाको संघारमा छ । अब त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने अवस्था के होला ?जताजतै कोरोना भाइरसको संक्रमण दिन दुईगुणा, रात चौगुनाको दरले बढ्दो छ । यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।

नेपालीले कहिल्यै चेतेनौं र महामारीलाई साह्रै हलुका रूपमा लिएकै कारण यो अवस्था आइपुगेको हो । कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात बढी छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् । अहिले आईसीयूमा जति सिकिस्त बिरामी छन्, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहेका होलान् भन्ने अनुमान गर्न सकिन्छ । अब सुरक्षाका सबै मापदण्ड अपनाऔं र सकेसम्म सुरक्षित रहने कोशिस गरौं ।

प्रतिक्रिया दिनुहोस्