उद्घाटन मोह



भूकम्पका कारण भत्किएको ऐतिहासिक धरहराको पुनर्निर्माण भएको छ । ६ वर्षअघि भूकम्पले भत्काएको धरहरा उठेको छ । निकै ठूलो बहस र विवादकै बीच सबल धरहरा तयार भएको छ, यसलाई सबैले सकारात्मकरूपमा लिएको देखिन्छ । नेपालको पहिचान बनेको धरहरा पुनर्निर्माण हुनु र समयसापेक्ष ढंगले आधुनिक मजबुती र पुरानो मौलिकताका साथ यसलाई खडा गर्नु साँच्चिकै खुसीको विषय हो । ऐतिहासिक सम्पदा पुरानै शैलीमा तर नयाँ प्रविधिमा निर्माण गर्न सफल भएकोमा सरकार, इन्जिनियरलगायतका प्राविधिज्ञहरु धन्यवादका पात्र छन् । तर, धरहरा ठडिए पनि यसको परिसरमा अझै भौतिक पूर्वाधार निर्माणको काम बाँकी नै रहेका बेला उद्घाटनको हतारो चाहिँ किन भयो, यो प्रश्न भने अनुत्तरित रहेको छ ।

कुनै पनि आयोजना सम्पन्न भएर त्यसको परीक्षण भएपछि मात्र उद्घाटन गर्ने प्रचलन रहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा हतार–हतार निर्माण नै सम्पन्न नभई उद्घाटन भएको छ । धरहरा निर्माण गरेको सरकारका प्रधानमन्त्रीले नै उद्घाटन गर्ने विषयमा कुनै विवाद छैन । तर, निर्माण नै सम्पन्न नभई उद्घाटन गर्न किन हतारो ? धरहरा परिसरमा निकै तामझामसहित उद्घाटन गरिएको धरहराको अझै धेरै काम बाँकी नै छ । आयोजना सम्पन्न नभई उद्घाटन गर्ने यो कस्तो प्रचलन हो ? एकातिर संरचनाको निर्माणले पूर्णता नपाएको यथार्थता छ भने अर्कातिर कोरोना महामारीका कारण उद्घाटन समारोह स्वाभाविक देखिन्न । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । तर, प्रधानमन्त्री ओली सहभागी भएको कार्यक्रममा सयौं मानिस भेला भएका देखिन्छन् । नियम–कानुन जनतालाई मात्र हो कि सरकारलाई पनि लाग्छ भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ । विकास निर्माणको काम गर्ने सरकारले नै हो । यसमा कुनै विवाद नै छैन ।

तर, अपुरो आयोजनाको उद्घाटन गर्न मिल्छ कि मिल्दैन भन्ने चाहिँ विवादको विषय हुन सक्छ । सरकारले हतार–हतार उद्घाटन गर्नुको पछाडि स्वामित्व लिने स्वार्थ देखिन्छ । अधुरो आयोजना उद्घाटन गरेर सरकारले कस्तो सन्देश दिन खोजेको हो, नागरिकमा आश्चर्य छाएको देखिन्छ । धरहरा निर्माण भएपछि आम नागरिकले अवलोकनको अपेक्षा गरेका थिए । तर, धरहरा परिसरमा अझै धेरै निर्माणको काम बाँकी रहेकाले अझै पाँच महिनाभन्दा बढी कुर्नुपर्ने भएको छ ।भौतिक पूर्वाधार निर्माणका काम सम्पन्न नभई धरहरा सञ्चालनमा आउन सक्दैन । त्यसैले सरकारले हतारो र सस्तो लोकप्रियताका लागि उद्घाटनमा हतारो गरेर यश पाउने ठाउँमा अपयश बटुलेको छ । सरकारविरुद्ध कुनै पनि समयमा अविश्वासको प्रस्ताव आउने दिशातर्फ राजनीति सोझिएको देखेर प्रधानमन्त्री ओली हतारिएका हुन् भन्नेहरुका लागि सरकारसँग सटिक जवाफ पनि देखिएको छैन । भूकम्प गएको मिति सम्झिन खोजेको हो भने १२ वैशाख, पछिल्लो दिनको प्रतीक्षा गर्नुपर्ने थियो । तर, निर्माण कार्य नै पूरा नभई मिति आयो भनेर हतारिनु स्वाभाविक देखिन्न । ओलीबाट उद्घाटन नभएकै भए पनि निर्माणको यश उहाँकै भागमा पर्ने नै थियो ।

प्रतिक्रिया दिनुहोस्