नेपाल समूहका सांसदमाथि कारबाहीको तयारीमा प्रधानमन्त्री



मधुसूदन रायमाझी, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि कारबाही गर्ने गृहकार्यमा जुट्नुभएको छ ।नेपाल समूहका सांसदमाथि कारबाही गर्दा वैधानिकताको प्रश्न नआओस् भनेर आइतबार आकस्मिकरूपमा केन्द्रीय आयोजक कमिटीको बैठक बोलाइएको एक नेताले बताए । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव दर्ताको सूचना पाएको र फ्लोर क्रसको सम्भावना रहेकाले कारबाही गरेर अगाडि बढ्ने सोचमा रहनुभएको एक केन्द्रीय सदस्यले बताए ।

कर्णाली प्रदेशकै प्रकरण नदोहोरियोस् भनेर अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ । पार्टी विधान र राजनीतिक दलसम्बन्धी मौजुदा कानुनमा पार्टीका नेताहरूलाई केन्द्रीय कमिटीले मात्रै कारबाही गर्न सक्ने उल्लेख भएकाले पुनः आयोजक कमिटीको बैठक बोलाइएको ती नेताले बताए । केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरणसोधिएका २७ सांसदलाई कारबाही गर्ने-नगर्ने निर्णयको अधिकार स्थायी कमिटीलाई दिएको थियो ।वैशाख १० गते बसेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधिएका २७ जनाको अवस्थाको बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो । सांसदबाट निलम्बन गर्ने गरी प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधे पनि पार्टी परित्याग नगरेको अवस्थामा नेपाल समूहका सांसदको पद नजाने अवस्था रहेकाले कारबाही प्रक्रिया रोकिएको हो । नेपाल समूहका सांसदहरू भने सांसदको पद खोस्न नसकोस् भनेर सर्वोच्च अदालत पुगेका छन् ।

पार्टीका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने केन्द्रीय आयोजक कमिटीको बैठकले कोरोना संक्रमण फैलिन नदिन देशव्यापीरूपमा कार्यकर्तालाई जनचेतानामूलक अभियानमा संलग्न हुन निर्देशन दिने निर्णय गरेको बताउनुभयो ।अध्यक्ष ओलीले यसअघि बसेको केन्द्रीय कमिटीको बैठकबाट नेपाल समूहका नेताहरूलाई भूमिकाविहीन बनाउँदै स्थायी कमिटी गठन र केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्नुभएको थियो । नयाँ सत्ता समीकरणको गृहकार्य भइरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको खबरप्रति सशंकित हुँदै अध्यक्ष ओलीले नेपाल समूहमा लागेका सांसदहरूलाई स्पष्टीकरण सोध्नुभएको थियो । कांग्रेससँगको भेटमा कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्ने, खनाल–नेपालले त्यसमा साथ दिने सूचना बालुवाटारमा पुगेपछि हतारहतार स्पष्टीकरण सोधिएको स्रोतको दाबी छ । अधिकांश सांसदहरूले स्पष्टीकरण बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्