परराष्ट्र नीतिका विषयमा असन्तुष्टि व्यक्त



नेपाल समाचारपत्र, काठमाडौं । 

सरकारले गत मंसिरमा सार्वजनिक गरेको परराष्ट्र नीति प्रारम्भिक छलफल नै नगरी ल्याइएको भन्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ ।बैठकमा सत्तारढ दल एमालेकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र नीतिको मस्यौदा गर्दा सरकारले पूर्वपरराष्ट्र मन्त्रीहरू, पूर्वगृहमन्त्री वा विज्ञहरूको राय नलिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

उहाँले देशमा अरु विषयमा दलहरूबीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुने जिकिर गर्दै भन्नुभयो– ‘मलाई थाहा छैन, सरकारले पूर्वपरराष्ट्र मन्त्रीहरू, पूर्वगृहमन्त्रीहरू वा विज्ञहरूको राय लियो कि लिएन तर मस्यौदा हेर्दा लिएजस्तो लागेन ।’परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने परराष्ट्र नीतिको मस्यौदा तयार गर्दा विगतका अध्ययनका प्रतिवेदनहरू अध्ययन गरिएको, निजी क्षेत्रका प्रतिनिधि र सबै दललाई बोलाएर छलफल गरिएको र समितिका सभापतिलाई पनि छलफलमा बोलाइएको दाबी गर्नुभयो ।

बैठकमा उहाँले सरकार परिवर्तनबाट परराष्ट्र नीति परिवर्तन नहुनेमा आफूहरू सचेत रहेको भन्दै परराष्ट्र नीति आम रूपमा स्थिर नीति भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय सम्बन्धमा परिवर्तन भयो भने परराष्ट्र नीतिलाई गतिशील बनाउनुपर्छ, यी कुराहरूले मात्रै परराष्ट्र नीति परिवर्तन हुन सक्छ ।’सोही बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले पनि समितिमा प्रारम्भिक छलफल नै नभई परराष्ट्र नीति आएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले परराष्ट्र र सुरक्षा नीति कुनै पार्टी विशेषको नभएको भन्दै यसलाई बलियो बनाउन कम्तीमा संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीको घोषणापत्र समेटिनुपर्ने धारणासमेत अघि सार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्