परीक्षा केन्द्र हटाइएकोमा विद्यार्थीको आपत्ति

साविककै ठाउँमा हुनुपर्ने माग



विनोदसिंह विष्ट, बैतडी ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाका लागि जगन्नाथ बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द्र सारेपछि विद्यार्थीहरुले आपत्ति जनाएका छन् । विश्वविद्यालयले दोगडाकेदार–३ खोचलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकेपछि विद्यार्थीले विरोध गर्दै साविककै ठाउँमा हुनुपर्ने माग गरेका हुन् ।

वैशाख ५ गतेदेखि सञ्चालन हुने स्नातक तह दोस्रो वर्षको परीक्षाका लागि विद्यार्थीहरुले साविककै ठाउँहरुबाट परीक्षा सञ्चालन हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाका विभिन्न क्याम्पसमा अध्ययनरत स्नातक तह दोस्रो वर्षका विद्यार्थीले हालसम्म त्रिविका परीक्षाहरु सदरमुकाम गोठलापानीमै भइरहेको थियो । त्रिविले बैतडी सदरमुकाममा रहेको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, निगलाशैनी बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस, रौलाकेदार बहुमुखी क्याम्पसको परीक्षा केन्द्र श्रीकोट बहुमुखी क्याम्पस खोचलेक कायम गरेको छ । आवश्यक पूर्वाधारको अभाव, खान–बस्नलगायत सुरक्षाका दृष्ठिकोणले पनि उपयुुक्त ठाउँ नभएकाले श्रीकोट बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र निर्धारण गरिनु दुखःद भएको जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानीमा अध्यनरत विधार्थी निर्मला टेरले बताउनुभयो ।

साविकको परीक्षा केन्द्र हटाएर अन्यत्र निर्धारण गर्ने त्रिविको निर्णयमा आम विद्यार्थी रुष्ट भएको उहाँले बताउनुभयो । ‘खोचलेकमा परीक्षा हुँदा विद्यार्थीहरु समस्यामा पर्ने त भए नै त्यसमा पनि छात्राहरुलाई बढी समस्या हुन्छ ।’ –विद्यार्थी नरेन्द्र साउदले भन्नुभयो ।सरकारले पछिल्लो समय एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने नियम लगाएको अवस्थामा पाँचवटा क्याम्पसको परीक्षा केन्द्र एकै ठाउँमा राख्नु स्वास्थ्य सुरक्षाका दृष्ठिकोणले पनि अनुपयुक्त भएको भन्दै उहाँ भन्नुहुन्छ– ‘केन्द्र फेरबदलले यहाँका अधिकांश विद्यार्थी परीक्षा दिनबाटै वञ्चित हुने अवस्थामा पुगेका छन् ।’
त्रिविको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले मनलाग्दी निर्णय यथाशीघ्र खारेजीको माग गरेका छन् ।

परीक्षा केन्द्र सार्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै त्रिभुवन विश्व बिद्यालय उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यालय रजिस्टारको कार्यालय, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय र अन्य निकायहरुको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्