कोरोना सतर्कता



कोरोनाको दोस्रो महामारी लहर शुरू हुन थालेको देखिन्छ तर आम नागरिकमा लापरबाही दिन प्रतिदिन बढिरहेको छ । दैनिक करिब ५ सयको हाराहारीमा संक्रमितको संख्या थपिन थालेको छ । दुई दिनअघि नेपालमा ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ  । ललितपुरमा संकलन गरिएको नमुनामा कोरोनाको मुलुकमै पहिलोपटक यस्तो भेरिएन्ट भेटिएको हो । यो डरलाग्दो अवस्था हो ।

यो भाइरस संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ । भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले अनुसन्धान शुरु गरेको छ । मन्त्रालयका अनुसार नमुना प्रमाणित गर्न हङकङ पठाइएको थियो । योसंँगै अहिले भारतसँग सीमा जोडिएका अधिकांश जिल्ला कोरोना संक्रमणको ‘हट स्पट’ बन्न थालेका छन् ।नेपालगन्जमा कोरोना संक्रमित राख्ने अस्पताल भरिभराउ भएको छ । वीरजन्जसँंज नर्सिङ क्याम्पसका २२ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा अस्पतालले कोरोनाबाहेकका बिरामी भर्ना लिन छाडिसकेको छ । विद्यालयको अवस्था जटिल बन्दै गएको छ ।

केही ठूला र स्वास्थ्य मापदण्ड पालना नगरी सञ्चालन भइरहेका विद्यालयको बालबालिकामा कोरोना संक्रमण देखिन थालेको छ । यूके भ्यारियन्ट भाइसरले विशेष गरी ५ देखि १८ वर्षसम्मका बालबालिकालाई संक्रमण बढाउन थालेको छ । अहिले दैनिक ५ सय हाराहारीमा संक्रमित थपिन थालेपछि सरकारलाई कोरोना संक्रमितलाई राख्ने स्थान अभाव भएको छ । बुधबारसम्मको तथ्याङ्कअनुसार कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ रहेको छ । अहिलेको अवस्था मूल्याङ्कन गर्दा पीसीआर र एन्टिजेन्ट परीक्षण गरेकामध्ये करिब १० प्रतिशत संक्रमित भेटिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले एक महिनासम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । दैनिकजसो अभिभावकले विद्यालय प्रशासनमा फोन गरेर यस्तो जटिल अवस्थामा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गर्ने गरेका छन् । अभिभावक महासंघले केही दिनका लागि विद्यालय बन्द गर्न दबाब दिन थालेको छ । निजी विद्यालयको संस्था प्याब्सन र नेसनल प्याब्सनले अहिले नै विद्यालय बन्द गर्न नहुने दबाब दिइरहेका छन् । प्याब्सन र नेसनल प्याब्सनले अहिलेको अवस्थामा विद्यालय बन्द गर्न नहुने अडान राखेका छन् । अन्तिम परीक्षा सञ्चालन गरेर नयाँ भर्ना गरेपछि मात्रै बन्द गर्न सकिने सल्लाह दिइरहेका निजी विद्यालय सञ्चालकको भनाइप्रति आलोचना पनि भएको छ ।

सरकारले यस्तो डरलाग्दो अवस्थामा न नयाँ योजना बनाएको छ न त मापदण्डलाई कडाइकासाथ पालना गराउन सकेको छ । केही ठूला विद्यालय सञ्चालकले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने बताइरहेका छन्, जसलाई स्वागतयोग्य विकल्प मान्नुपर्छ । दैनिकजसो संक्रमितको संख्या ह्वात्तै बढिरहेको अवस्थामा सरकारले उपत्यकामा सञ्चालित सवारीसाधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गराउनु अर्को तत्कालको उपाय हुन सक्छ । सार्वजनिक यातायात साधनमा सिटअनुसार मात्र यात्रु राख्ने व्यवस्था गर्नु पनि आवश्यक छ । अर्कातिर पार्टी प्यालेस र भोजभतेरमा नियन्त्रण गर्नु पनि आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्