प्रादेशिक अस्पताल मेथिनकोटलाई कोइकाले उपलब्ध गरायो मेडिकल सामग्री



मोतीराम तिमल्सिना, काभ्रे ।

प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलबध गराएको छ ।

अस्पताललाई १९ लाख रुपैयाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । अस्पताललाई उपलब्ध गराईएका सामाग्रीहरुमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बिआइपी–एपी मेसिन एक थान, पल्स अक्सिमिटर पाँच थान, डिजिटल बिपी मेसिन ६ थान, इमर्जेन्सी बेड ३ थान, अक्सिजन रेगुलेटर ५ थान, इमर्जेन्सी मेडिकल कार्ट १ थान र इमर्जेन्सी बेड म्याट्रेस ३ थान रहेका छन् ।

कोरोना भाईरसको संक्रमणको जोखिमको समयमा नागरिकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराएको मेथिन्कोट अस्पताल पछिल्लो समय साधन सम्पन्न हुँदै गएको छ । नमोबुद्ध नगरपालिका, रोशी, तेमाल, महाभारत गाउँपालिकाको अलावा छिमेकी जिल्ला सिन्धुली र बर्दिबास हुँदै आवतजावत गर्ने सवारी साधन दुर्घटना हुँदा हुन सक्ने जोखिम न्युनिकरणका लागि उक्त अस्पताल महत्वपूर्ण मानिएको छ ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ–सुकले मेथिनकोट अस्पतालले कोभिडको महामारीको समयमा पुर्‍याएको योगदानको प्रशंसा गर्नु भयो । उहाँले आगामी दिनमा अस्तपाललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सामान्य अवस्थामा सुरु भएको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको तर, आवश्यक पूर्वाधार, जनशक्ति र मेडिकल सामग्रीको अभावका कारण प्रभावकारी सेवा प्रदान गर्न समस्या परेको उहाँले बताउनु भयो । नगर प्रमुख तिमल्सिनाले अस्पताललाई मेडिकल सामग्री प्रदान गरेकोमा कोइका र कोइका अलुम्नाई एसोसिएसनलाई धन्यवाद दिनु भयो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले नगरपालिकाको व्यवस्थापनमा सञ्चालित अस्पतालको स्तरोन्नति गर्दै प्रदेश सरकारले सहकार्य गर्ने जिम्मेवारी लिएको बताउनु भयो । मेथिनकोट अस्पताल राजमार्गसँगै जोडिएको हुनाले अस्पतालमा आउने बिरामीको सेवाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले बताउनु भयो ।

१५ शैयाको अस्पताललाई ५० शैयाको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पुर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको सचिव दिपक काफ्लेले बताउनु भयो । कोइका अलुम्नाई एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले एसोसिएसन स्थापनाको २० बर्षमा पहिलोपटक यति ठूलो सहयोग गरेको बताउनु भयो । मेथिनकोट अस्पताललाई थप सुविधासम्पन्न बनाउन राजदूत सुकलाई उहाँले विशेष आग्रह गर्नु भयो । अस्पतालका अध्यक्ष एवं वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले ०६६ सालबाट सञ्चालनमा आएको अस्पताललाई अझै सुविधासम्पन्न बनाउनका लागि आवश्यक सहयोग गर्न पनि काफ्लेले सरोकारवालाहरुलाई धन्यवाद दिनु भयो ।

कोरियन सरकारको छात्रवृत्तिमा नेपाल सरकार र अन्तर्गतका निकायबाट मेडिकल छात्रवृत्तिमा तालिम वा विश्वविद्यालयमा अध्ययनका लागि दक्षिण कोरिया गएका व्यक्तिहरुको संलग्नतामा स्थापित कोइका अलुम्नाई एसोसिएसनले विगतदेखि नै स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको यसका महासचिव दीपक गौतमले बताउनु भयो । सोहि अवसरमा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कोइकाका उच्च अधिकारीहरु तथा कोइका अलुम्नाई एसोसिएसनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्