बैशाख ७ देखि ११ सम्म कोरोनाविरुद्धको दोस्रो डोज खोप कहाँ र कहिले ? (विवरणसहित)



न्युज अफ नेपाल, काठमाडौ ।

पहिलो मात्रा कोरोना बिरुद्धको खोप लगाई सकेका नागरिकहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा खोप लगाउँनका लागि २०७८ बैशाख ७ गते देखि ११ गते सम्म लगाउँने भएको छ ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो डोजको खोप लगाउँनका लागि बागमाती प्रदेशका लागि १९ वटा खोप केन्द्रहरु तोकेको छ । मंगलबार स्वास्थ्य कार्यालय बागमती प्रदेशले सर्वसाधारणका लागि सूचना नै सार्वजनिक गर्दै आफुलाई पाएक पर्ने खोप केन्द्रमा गै दोस्रो डोज लगाउँन आग्रह गरेको छ ।

नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते १० लाख डोज खोप पहिलो पटक भित्रिएसगै माघ १४ देखि फागुन १० गते सम्म पहिलो मात्रा खोप लगाएको थियो । पहिलो डोज खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउँनका लागि बीर अस्पताल, परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शुक्रराज ट्रपकिल तथा सरुवारोग अस्पताल, टेकु, निजामति कर्मचारी अस्पताल, मिनभवन, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुरलाई खोप केन्द्र तोकेको छ ।

त्यसैगरि अन्य खोप केन्द्रहरुमा नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, हिमाल अस्पताल, ज्ञानेश्वर, स्तुपा अस्पताल, बौद्ध, ह्याम्स अस्पताल, धुम्बाराही, त्रि विशिक्षण अस्पताल, महाराजगंज, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, बिरेन्द्र अस्पताल, छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल, पानीपोखरी, ओम हस्पिटल एण्ड रिर्सच सेन्टर, चावहिल, क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटी, जनमैत्री अस्पताल, बालाजु र मदरल्याण्ड अस्पताल जडिबुटी तोकेको छ ।

कोरोना बिरुद्धको दोस्रो डोज खोप लगाउने समय विहानको १० बजेदेखि ४ बजे सम्म तोकिएको छ । गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले बैशाख ७ गते दोस्रो मात्राको खोप लगाउन मिति तोकिएको छ ।

माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले बैशाख ८ गते, माघ २२,२३,२४,२८ र फागुन २ गते लगाएकाले बैशाख ९ गते लगाउनका लागि मिति तोकिएको छ । त्यसैगरी माघ २९ र फागुन ३,४,५ र ६ गते खोप लगाउनेको पालो बैशाख १० मा तोकिएको छ भने, माघ ३० र फागुन ७, ८,९ र १० मा पहिलो मात्रा कोरोना बिरुद्धको खोप लगाएकालाई बैशाख ११ गते खोप लगाउने मिति तोकिएको छ ।

माथी तोकिएको अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बेंक र वित्तीय संस्थानका कर्मचारीहरु पहिलो र दोस्रो प्राथमिकतामा परी खोपको पहिलो डोज लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्