विद्यालयका अध्यक्ष र वडा सदस्यविरुद्ध हिनामिनाको आरोप



युवराज श्रेष्ठ, रामेछाप । 

मन्थली नगरपालिका–७ भटौंलीमा रहेको कालिकादेवी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा रकम हिनामिना भएको भन्दै उनीहरूविरुद्ध अख्तियारमा उजुरी परेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बुढाथोकी र मन्थली नगरपालिका–७ का वडा सदस्य खड्कबहादुर बुढाथोकीले कीर्ते बिल भर्पाइ गरी विद्यालयको पैसा अपचलन गरेको भन्दै उनीहरुविरुद्ध स्थानीय अभिभावक र विद्यालय प्रशासनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।

दुुई जना मिलेर कीर्ते बिल भर्पाइ गरेर ८७ लाख ५० हजार रकम अपचलन गरेको आरोप स्थानीय अभिभावक खिरलाल तामाङले लगाउनुुभएको छ । वडा सदस्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा बिद्यालय भवन निर्माणको क्रममा ६७ लाख ५० हजार बराबरको कीर्ते बिल बनाई फरफारक गरी भुक्तानी लिएको उहाको भनाइ छ । विद्यालय भवन निर्माण गर्ने क्रममा लगाइएका कामदारहरुले समेत हालसम्म काम गरेको ज्याला नपाएको अभिभावक तामाङ बताउनुहुन्छ ।त्यस्तै गरी, शौचालय र खानेपानी ट्याङ्की निर्माणमा विनियोजित २० लाख रकम उपभोक्ता समिति नै गठन नगरी विद्यालय व्यस्थापन समितिका अध्यक्ष बुढाथोकी र वडा सदस्य खड्क बुढाथोकीले एकलौटी काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।

विद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक मन्थलीको खाता नं १६८००००५२४०१ मा जम्मा भएको रकम समेत अपारदर्शीय तवरले झिकी अध्यक्ष प्रकाश बुढाथोकीले व्यक्तिगत मुनाफा गर्नका लागि मिनीट्रक गाडी खरिद गरी कुखुरा फर्म र पसल सञ्चालन गरेको समेत उजुरीमा उल्लेख छ । त्यस्तै, मन्थली नगरपालिकाबाट विनियोजित रकमको सामान खरिद नगरी कीर्ते बिल भर्पाई पेस गरेर भुक्तानी लिएको आरोपसमेत छ ।विद्यालयको नाममा रहेको ३१ रोपनी जग्गामा रहेको साल र सल्लो गरी अन्दाजी ९ हजार ५ सय क्युफिट काठ मनोमानीरूपमा काटी बिक्री–वितरण गरेर उक्त रकमसमेत उनीहरुले अनियमितता गरेको साथै मन्थली नगरपालिकाबाट विनियोजित २ लाख रुपियाँबाट ल्यापटप खरिद वाईफाई जडान र बुक कर्नरका लागि भनी दिएको रकमले उनीहरुले कुनै पनि सामग्री नै खरिद नगरी कीर्ते बिल भपाई बनाएर नगरपालिकाबाट फरफारक समेत गरेको उजुरीमा भनिएको छ ।

विद्यालयको रकम विद्यालयकै व्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलोमतोमा भ्रष्टाचार गरेको भन्दै स्थानीय अभिभावकहरुले उनीहरुविरुद्ध राष्ट्रिय सर्तकता केन्द्र, मन्थली नगरपालिका, जिल्ला समन्व समिति रामेछाप र नेपाल पत्रकार महासंघमा समेत बोद्यार्थ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्