धार्मिक मार्गका होटलमा मूल्य सूची



रसुवा, (नेस) ।

धार्मिक मार्ग गोसाइँकुण्ड जाने भक्तजनका लागि भोजन र बासको सहजताका प्रत्येक होटलमा मूल्यसूची अनिवार्य गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरिविनायक र गोसाइँकुण्डमा सञ्चालित होटल तथा लज व्यवसायीले तीर्थालुसँग चर्काे शुल्क लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको छ ।

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जति शुल्क असुले पनि अबका दिनमा गोसाइँकुण्ड पुगेका तीर्थालु वा पर्यटकले खानाको ५ सय ५० र सुतेको प्रतिवेड १ हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण भएको छ ।लौरीविनायकमा खानाका लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको ५ सय, सुतेको ९ सय कायम गरिएको छ । चोलाङपाटीमा प्रतिव्यक्ति खानाको ४ सय ५० र सुतेको ८ सय दर निर्धारण गरिएको छ । १५ दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही चैत १७ गते गरेको आग्रहलाई कार्यान्वयन गरी लाङटाङ राष्ट्रिय निकुञ्जले चैत १९ गते नै नयाँ दर कायम गरिएको थियो ।

खाने–बस्ने व्यवस्थापकीय कार्यअन्तर्गत धार्मिक मार्गका होटल तथा लज सञ्चालनको स्वीकृति दिने र अनुगमन गर्ने निकाय निकुञ्ज भएकाले दर निर्धारण गरी धार्मिक मार्गका होटल तथा लज व्यवस्थित बनाउन निकुञ्जलाई आग्रह गरेअनुसारको कार्य भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्