शेयर बजारमा आत्तिने समस्या



यदि शेयर बजारलाई प्रभाव पार्ने अरु आधारभूत पक्षहरु बलिया देखिए र ट्रेन्ड लगातार झर्न थालेको खण्डमा आफूसँग भएको शेयर तुरुन्तै बेचेर अत्यधिक घटेका बेला पुनः किन्दा जोखिम कम गर्न सकिन्छ । बजारमा ६ सय रुपियाँको शेयर लगातार घटेर साढे ५ सयमा झर्दा बेचियो र ५ सयमा आएपछि त्यति नै कित्ता पुनः खरिद गरियो भने त्यत्तिकै राख्नुभन्दा जोखिम कम हुन जान्छ ।

यसलाई ‘स्टप लस’ पनि भन्ने गरिन्छ । तर बियरिस ट्रेन्ड कति लम्बिन सक्छ भन्ने अनुमान लगाउन चुनौतीपूर्ण हुन्छ । ब्याजदर बढ्न थाल्नु, बजारमा शेयरको आपूर्ति बढ्नु, जटिल परिस्थितिका घटनाक्रमहरु विकास हुनु, द्वन्द्व उत्पन्न हुनुजस्ता पक्षले बजारलाई लामो समयसम्म बियरिस ट्रेन्डमा पार्न सक्छ ।आफूले शेयर किनेको भोलिपल्टै सूचक रातो हुँदा मन आत्तिन सक्छ, तीन दिनसम्म बजार घट्ने हो भने डिम्याट खातामा शेयर आएकै दिन पुनः बेच्न हतारिने प्रवृत्ति लगानीकर्तामा छ । बजारको प्रवृत्ति घट्ने बढ्ने नै हो । घटेर बेच्ने हो भने नोक्सान भइसक्यो ।

तर घटेर पनि नबेच्ने हो भने त्यो वास्तविक नोक्सान हुँदैन । त्यसकारण बजारमा शेयर किनिसकेपछि केही घट्दैमा आत्तिनुहुँदैन । त्यसै गरी किनेको भोलिपल्टबाट फेरि बढ्यो भने तुरुन्तै मात्तिएर बेच्नु पनि उपयुक्त हुँदैन । किनकि किन्दा र बेच्दा दुवैपटक कमिसन र अनेक शुल्कहरु खर्च भएको हुन्छ । यस्ता कमिसनको पनि हिसाब गर्नुपर्छ ।
– हीरा सुवेदी, बुटवल 

प्रतिक्रिया दिनुहोस्