रङ्गीन पर्व होलीको शुभकामना



होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर रङ्गीन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली खेल्ने दिनभन्दा एक दिनपहिला राति होलीका दहन गरिन्छ ।

राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एक–अर्कासित मिल्छन् । हिन्दू धर्म मान्नेहरुको बाहुल्य भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ । फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाहरु हातमा रङ्ग लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी दुश्मनीलाई बिर्सेर उत्साह–उमंगका साथ मनाउने गर्छन् । होली रङ्गहरूको चाड पनि हो । यो चाड फागुन महिनामा मनाइने हुँदा यसलाई फागुआको चाडले पनि चिनिन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङ्गहरुको वर्षाले शहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । सबै पक्ष ठिक्कै लाग्छ तर अचेल विकृति बढेको छ ।त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी

 

आफंै भष्म भएकी दिनका रुपमा होलीको पर्व पदार्पण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि प्रह्लाद घटनाक्रमसँग समबन्धित छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षस्नी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको वध भएपछि गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको कथन पनि छ ।नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान् कृष्णको प्रिय रंग हो । सौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ । अनुहार अनि शरीरभरि लागेका रंगहरु धुँदा हातैभरि रंगहरु हुने गर्दछ । खलल बगेका पानीका धारा या नुहाउने इनार अनि पोखरीका डिलहरु आज रंगीन हुने गर्दछन् । होलीका गीतहरु गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यकालगायत अन्य ठाउँहरुमा आजै अर्थात् फाल्गुण पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट बिदा दिइन्छ ।

धार्मिक मान्यताबाट अलग बनाएर केवल उत्साह अनि सद्भावका रुपमा हेरेरै त होला, नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् । बालबालिकाले पिच्कारी अनि स–साना बेलुनहरुका साथमा मज्जा लिन्छन् । फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काटेर त्यसका हाँगाबाट बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयष्कका लागि होली रंगहरु अनि भ्रातृत्व र साहसको पर्व हो ।अन्य चाडपर्वजस्तै होलीका पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आ–आफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडेपछि होली पर्व शुरू भएको मानिन्छ । यसरी शुरू भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ ।

इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसै गरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्यान्ड आदि देशमा पनि आ–आफ्नै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्पराअनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भाव व्यक्त गरिएका छन् ।यस्तै होलीलाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् श्रीकृष्णको व्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, विहार, बंगाल, उडिसा, असाम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर, पञ्जाव, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोक–संस्कृतिको झलक पाइन्छ ।

त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तर प्रदेशको व्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली अर्थात् लौरोले प्रहार गर्ने होली निकै लोकप्रिय छ । धार्मिक र सामाजिकरूपले महिलालाई जिस्क्याउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो ।किंवदन्तीअनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्क्याएका थिए । प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम छ । छिमेकी विहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् जोगिरा सरर पूरा एसियामा लोकप्रिय छ । पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । यहाँ घर–आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ ।

आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्वपूर्ण पक्ष हो ।फाल्गुण शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबारअगाडि चीर विशेषरूपले सजाएको लिंगो गाडेपछि होली शुरू भएको मानिन्छ भने पूणिर्माको राति उक्त चीर लिंगोलाई ढालेर जलाएपछि फागुपर्व समाप्त भएको ठानिन्छ । यस वर्षको फागुमा सबैमा शुभकामना ।
– राजीवकुमार श्रेष्ठ, पाटनढोका, ललितपुर 

प्रतिक्रिया दिनुहोस्