वियोन्सेलाई २८ ग्रामी अवार्डको रेकर्ड



संगीत विधाका लागि चर्चित अवार्ड ६३औं ग्रामी अवार्ड अमेरिकाको लस एन्जलसस्थित कन्भेन्सन सेन्टरमा सम्पन्न भएको छ।ग्रामी अवार्ड जनवरी ३१ का लागि तोकिए पनि कोभिड–१९ को महामारीका कारण मार्च १४ लाई सारिएको थियो। यस वर्षको अवार्ड समारोह पप गायिका वियोन्सेका लागि खास रहन पुग्यो। उनले यस वर्ष ४ ग्रामी अवार्ड चुमेकी छिन्।

अवार्ड जितेसँगै उनले अहिलेसम्मकै सबैभन्दा बढी २८ अवार्ड जित्ने महिला कलाकारको इतिहास रचेकी छिन्। रेकर्डिङ एकेडेमीद्वारा आयोजित अवार्ड समारोहमा वियोन्से ९ विधामा मनोनित भएकी थिइन्। उनले स्याभेज बोलको र्‍यापका लागि सर्वोत्कृष्ट र्‍यापर र अर्को एक अवार्डका साथ ब्ल्याक परेड बोलको गीतका लागि सर्वोत्कृष्ट प्रस्तुति र ब्राउन स्किन गर्लका लागि सर्वोत्कृष्ट भिडियो अवार्ड गरी कुल चार अवार्ड चुमेकी हुन्। यी चार ग्रामी अवार्डका साथ हालसम्म २८ ग्रामी अवार्ड चुमेपछि वियोन्सेले चर्चित गायिका एलिसन क्राउसको रेकर्ड तोडेकी छिन्। अवार्ड जितेपछि वियोन्सेले भनेकी छिन्– ‘मलाई लाग्छ एक कलाकारको हिसाबले म तथा हामी सबैको कर्तव्य भनेको हालको समयलाई प्रतिबिम्बित गर्नु हो। यस कारण म ती सबै व्यक्तिलाई धन्यवाद दिन चाहन्छु, जसले मलगायत सबै दुनियाँलाई प्रेरित गरेका छन्।’
वियोन्सेपछि गायिका टेलर स्विफ्टका लागि पनि यस वर्षको ग्रामी अवार्ड समारोह खास रहन गयो।

टेलरले आफ्नो एल्बम फोकलोरका लागि सर्वोत्कृष्ट एल्बमको अवार्ड चुमिन्। यससँगै उनले तीनपटक एकै विधाको अवार्ड चुम्ने पहिलो गायिकाको रेकर्ड बनाएकी छिन्। यसभन्दा अघि सन् २०१० मा उनले आफ्नो एल्बम फियरलेस र सन् २०१५ मा एल्बम १९९८ का लागि यही विधाको अवार्ड चुमेकी थिइन्। कमेडियन तथा टक शो होस्ट ट्रेवर नोआहले सञ्चालन गरेको समारोहमा वर्ष गीतको अवार्ड आई कान्ट व्रिदले जित्दा पप एकल प्रस्तुतिको अवार्ड वाटरमेलन सुगर बोलको गीतबाट र्‍यारी स्टाइल्सले, नव कलाकारको अवार्ड मेगन थी स्टेलियनले, कम्पिलेसन साउन्ड ट्र्याक फर भिजुअल मिडियाको अवार्ड जोजो र्‍याविट बोलको गीतले, संगीत उत्पादकको अवार्ड एन्ड्रयु वाटले र सांगीतिक फिल्मको अवार्ड द साउन्ड अफ माई भ्वाइसका लागि सिन्टा रोन्सटाडले चुमे।

त्यसैगरी कन्ट्री एल्बमको अवार्ड वाइल्ड कार्ड नामक एल्बमबाट मिरान्डा ल्याम्बर्टले, ट्रेडिसनल भोकल पप एलबमको अवार्ड अमेरिकन स्ट्यान्डर्डका लागि जेम्स टेलरले चुम्दा रक एल्बमको अवार्ड द न्यु एबनर्मलले, अल्टरनेटिभ म्युजिक एल्बमको अवार्ड फेच द बोल्ट कटर्सले, प्रोगे्रेसिभ आर एन्ड बि एल्बमको अवार्ड इट इज र्‍याट, इट इज थन्डरक्याटले, र्‍याप एल्बमको अवार्ड किंग्स डिजिजले, ज्याज भोकल एल्बमको अवार्ड सिक्रेट्स आर द बेस्ट स्टोरिजले, ज्याज इन्स्ट्रमेन्टल एल्बमको अवार्ड ट्राइलोजी २ ले, कन्टेम्पोररी क्रिस्टियन म्युजिक एल्बमको अवार्ड जिसस इज किङले, स्पोकेन एल्बमको अवार्ड ब्लो आउट करप्टेड डेमोक्रेसीले र कमेडी एल्बमको अवार्ड ब्ल्याक मित्जवाहले चुमेको छ।

प्रतिक्रिया दिनुहोस्