‘खप्पर’को विकास नै मुलुकको विकास



संसारमा कुनै पनि देशमा विकास हुनका लागि कसैलाई दोष दिनुभन्दा खप्परको विकास हुनु जरुरी छ । खप्परको विकास भन्नाले कंकालको विकास होइन, मनुष्यको बुद्धिको विकास नै खप्परको विकास मान्न सकिन्छ, तर यहाँ त अहिले आएर नेपाली सोझा देखिए पनि खप्पर नभएका याने कि मुर्कट्टासरहका व्यक्तिहरु भएको आभास हुन्छ । यसले गर्दा देशमा धेरै समस्या भएका कारण समाज दिनहुँ दिक्दार छ । सधैँ महँगी, कलह, बलात्कारजस्ता घटनाहरु बढिराख्नुको कारण खप्परहरु काम नलाग्नु मान्न सकिन्छ ।

खप्पर नभएका व्यक्ति र मुर्कट्टा दुईवटै एकै किसिमका काल्पनिक प्राणी हुन् । यी प्राणीहरुको टाउको हुँदैन । यसका इन्द्रेणीजस्तै मुख, नाक, आँखा आदि पेटमा हुन्छन् । यसको दर्शन गर्ने हो भने महाभारतको कथाको पानामा झुलक्क देखिन्छ । हामीले के भन्न खोजिराखेका छौं भने, हाम्रो मुलुकमा जति पनि सरकारहरु आइराखेका हुन्छन् प्रायः सबै खप्परको विकास नभएका हुन् । यहाँ प्रायः यस्तै प्राणीहरुले देश चलाइराखेका छन् । अनि मुलुक राम्रो दिशामा जानुको साटो एकोहोरो र घमण्डले मातिएको हुन्छ ।दुनियाँमा गोब्रे स्याल भन्ने अर्का प्राणी हुन्छन्, यिनीहरु अलि फोहोरी हुन्छन् । जीउ, खुट्टामा सधैँ हिलो लागिराखेको हुन्छ। । वाइल्ड डकजस्तै यिनीहरुको काम नै खाली जुनसुकै प्राणीको मासु खाएर आफ्नो पेट भर्ने हो । हाम्रो मुलुकमा पनि यस्ता किसिमका प्राणीको कमी छैन । मुर्कट्टा र यस्ता गोब्रे स्यालहरुको साँठगाँठ निकै मिलेको हुन्छ । धन भनेपछि यिनीहरु जुनसुकै गलत काम गर्न पछि पर्दैनन् र मुलुकलाई अँध्यारोतिर धकेलिराखेका हुन्छन्, जुन एकदम गलत कुरा हो ।

विपन्न वर्गका लागि राष्ट्रिय धनको तहबह मिल्थ्यो होला यस्ता प्राणी नभएको भए । यी माथिका गलत प्राणीहरुलाई जबसम्म हाम्रो समाज मिलेर ठीक पर्न सक्दैन तबसम्म मुलुक सधैँ गलत दिशामा गइरहन्छ र यिनीहरुको मात्र राज हुन्छ । यस्तो अवस्थामा देशलाई माया गर्ने र राम्रा व्यक्तिहरु कराइराखेका हुन्छन् तर मुलुक राम्रो अवस्थामा आउँदैन । यस्तो बेलामा पनि केही व्यक्तिहरु स्वार्थमा बिक्री हुन्छन् भने हामीले भन्नु केही छैन । रमाइलो गर्न चाहने, मासु–भात खाएर होहल्ला गर्न चाहने, कुरा नबुझ्ने तथा एकोहोरो पाङदुरेहरु पनि हाम्रो मुलुकमा धेरै छन् । त्यसकारण यस्ता व्यक्तिहरुको मानसिकताको पहिला विकास हुनु जरुरी छ ।
हाम्रो देशको दुर्भाग्य, यस्ता व्यक्तिहरुले नै गलत व्यक्तिहरुलाई माथि कुर्सीमा पु¥याउँछन् ।

त्यसकारण सधैँ यस्ता व्यक्तिहरु गलत बाटोमा नजाऊन् भन्ने हेतुले यहाँका बुद्धिजीवी, शिक्षाविद्, शिक्षण संस्थान, चलचित्र तथा मिडियाहरुले यस्ता व्यक्तिमा बुद्धिको विकास गरिदिनुपर्दछ । अनि मात्र राम्रो समाजको सृजना हुन्छ, जसले गर्दा खराब मानिसको आत्मबल कमजोर हुँदै जान्छ । यसो नगर्ने हो भने आउने पुस्ताको पनि विकास हुँदैन, देश सधैँ एकनाशले गुज्रिराख्नेछ ।
–रमेशकेशरी वैद्य

प्रतिक्रिया दिनुहोस्