विवादित क्षेत्रको अनुगमन गर्दै रेल विभाग



गोकुल घोरसाइने, बारा ।

पूर्व–पश्चिम रेलमार्गअन्तर्गतकोे निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि रेल विभागले शुरु गरेको सर्भेको क्रममा विवाद उत्पन्न भएपछि विभागका टोलीले आइतबार निजगढ क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

रेल विभाग काठमाडौंका महानिर्देशक प्रमिला बज्राचार्य, सिनियर डिभिजन इन्जिनियर देवेन्द्रप्रसाद साह, कोरियन कन्सल्ट्यान्ट कम्पनी लागियुसिङका सर्भेयरहरु, नेपाली कन्सल्ट्यान्ट फुलब्राइटका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले प्रस्तावित २ नम्बर रेखांकन क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा निजगढ नगरपालिका प्रमुख सुरेश खनाल, स्थानीय बासिन्दा, रेलमार्गपीडित सरोकार समितिका पदाधिकारी र सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो ।विभागको प्रारम्भिक अध्ययनमा पूर्वपश्चिम रेलमार्गका लागि निजगढ क्षेत्रमा ४ स्थानबाट रेखांकन गरिएको थियो । जसमध्ये विभागले स्थानीय तहसँग समन्वय नै नगरी १ नम्बर रेखांकनमा सर्भे कार्य शुरु गरेपछि स्थानीयले गत महिना अवरोध गरेका थिए ।

यसअघि निजगढ नगरपालिकामा भएको सर्वपक्षीय भेलाले १ नम्बरको विकल्पमा निजगढ पश्चिमको बकैया खोलको पूर्वी किनारमा पर्ने २ नम्बर रेखांकनको सर्भे गर्ने सहमति गरेपछि विभागको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको हो । टोलीको निजगढ क्षेत्रमा पर्ने बकैया खोलाको दक्षिणी सीमादेखि उत्तरको कछडिया टोलसम्मको करिब १० किमि क्षेत्रको निरीक्षण गरेको हो । प्रस्तावित १ नम्बर रेखांकनमा स्थानीयले काम गर्न अवरोध गरेपछि विकल्पका रूपमा २ नम्बरमा सर्भे गर्न लागिएको विभागका सिनियर इन्जिनियर साहले बताउनुभयो । उहाँले खोलाकिनारामा पर्ने भएकाले २ नम्बर रेखांकनमा थप अध्ययन हुनुपर्ने बताउनुभयो ।

साहले बकैया खोला पश्चिम जंगल क्षेत्रमा पर्ने ४ नम्बर रेखांकनमा पनि सर्भे गरिने बताउनुभयो । ‘दुवैमा अध्ययन गरिने छ’, उहाँले भन्नुभयो– ‘आर्थिक, सामाजिक र भौगर्भिक दृष्टिले जुनमा उपयुक्त हुन्छ त्यसैमा काम गरिन्छ ।’प्रारम्भिक अध्ययनका क्रममा विभागको टोलीले निजगढ बजार क्षेत्रमा पर्ने १ नम्बर रेखांकन क्षेत्रबाट सर्भे थालेपछि स्थानीयले रेलमार्गपीडित सरोकार समिति गठन गरेर रेल्वे लाइनको विरोध गर्दै आएका छन् । रेलमार्ग निर्माणले आफ्नो जायजेथा नष्ट हुने भन्दै स्थानीयले सर्भे कार्यमा अवरोध गरेपछि काम गर्न नसकेर टोली त्यसै फर्किएको थियो । अनुगमन क्रममा नगर प्रमुख खनालले प्रविधिकहरुलाई बस्ती र खेतीयोग्य जमिनमा क्षति नहुने गरी उपयुक्त विकल्प छनोट गरेर सर्भे गरिनुपर्ने बताउनुभएको थियो ।

बकैया खोलाको पूर्वी किनारबाट रेलमार्ग बनाउन सकिए यसले निजगढको सुरक्षाका लागि तटबन्दको पनि काम गर्ने र निजगढबासीलाई दोहोरो फाइदा हुने उहाँले बताउनुभयो । रेलमार्गपीडित सरोकार समितिका संयोजक जितलाल श्रेष्ठ, सहसंयोजक विष्णु खड्काले पनि टोलीलाई नगरबासीको हित हुने गरी रेलमार्ग बनाउनुपर्ने माग राख्नुभएको थियो । रेल विभागकी महानिर्देशक प्रमिलादेवी बज्राचार्यले पनि स्थानीयको कमभन्दा कम क्षति पुग्ने गरी काम गर्ने बताउनुभयो ।पूर्व–पश्चिम रेलमार्गको निजगढ–हेटौंडा–भरतपुर खण्डबाहेक अन्य खण्डको डीपीआर पूरा भइसकेको छ । यसअघि गरिएको उक्त खण्डको डीपीआरमा निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्र परेपछि सरकारले पुनः डीपीआर गर्न लागेको हो ।

तर, अहिले स्थानीयको घरजग्गा पर्ने देखिएसँगै डीपीआर निर्माण प्रक्रियामा विवाद देखिएको थियो । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबासबाट पश्चिम र निजगढ पूर्वी खण्डमा ठेक्का सम्झौता भई निर्माण कार्य पनि अघि बढिसकेको छ । रेलमार्गको निम्ति कम्तीमा पनि ५० मिटर चौडाइको भू–भाग आवश्यक पर्ने र हालालई ३ सय ५० मिटर दायाँ–बायाँको क्षेत्रलाई समेटेर सर्भे गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्