असुरक्षित गर्भपतनका कारण जोखिममा महिला



असुरक्षित गर्भपतन गराउँदा बालिकाको ज्यान जोखिममा’ भन्ने शीर्षकको समाचार सामाजिक सञ्जालमा आइरहन्छ । नेपालमा विविध कारणले गर्भ बोक्न विवश कैयौँ किशोरीको असुरक्षित गर्भपतनका कारण ज्यान गइरहेको छ ।

विडम्बना त यो छ कि सरकारले सुरक्षित गर्भपतनसम्बन्धी सहज व्यवस्था ल्याउँदासमेत सुरक्षित गर्भपतन हुन सकिरहेको छैन । एक तथ्यांकअनुसार नेपालमा ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउँछन् । वैधरूपमा गर्भपतन गराउनेमध्ये ३७ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशत एनजीओमार्फत चलेका स्वास्थ्य संस्थामा र बाँकी २९ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेका छन् ।यौनशोषण, बलात्कार, हाडनाता करणीजस्ता असाधारण गर्भपतन गराउनु बाध्यता भए पनि नेपालमा शिशुको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति कायमै छ ।

नेपालको कानुनले १२ हप्तासम्मको गर्भ गर्भवतीको इच्छाअनुसार सुरक्षितरूपमा पतन गराउन सकिने सुविधा दिएको छ । किनभने, गर्भमा छोरा वा छोरीको पहिचान १३ हप्तापछि मात्र पत्ता लाग्छ । कानुनी व्यवस्था कडा भए पनि नेपालमा असुरक्षित गर्भपतन गराउने क्रम बढ्दो छ । गर्भपतन गराउने उद्देश्यले लिंगको पहिचान गरेमा ३ महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था र लिंग पहिचान गरी गर्भपतन गराउनेलाई थप एक वर्ष कानुनी सजाय हुने व्यवस्था छ ।कानुनले अनिच्छुक गर्भपतन गराउन सक्ने अधिकार दिएपछि जथाभावी गर्भ बोक्ने र पतन गराउने शृङ्खला चल्दै आएको छ, त्यो पनि लुकिछिपी र असुरक्षितरूपमा । हाम्रो समाजमा अझै पनि छोरा पाउने चाहनामा गर्भपतन गराउनेको संख्या अधिक छ ।

खासगरी १८ वर्षभन्दा कम उमेरकी किशोरीको हकमा उसको स्वास्थ्य र सर्वोपरि हितका निम्ति सुरक्षित गर्भपतन गराउनुपर्ने व्यवस्था कानुनमा गरिएको हो । किनकि नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्षपारि मानिएको छ । गर्भपतन गराउन निश्चित शुल्क पनि लाग्ने गर्छ । रकम अभावका कारण विकट गाउँका महिलाले घरेलु उपाय अपनाएर गर्भपतन गराउने प्रयास गर्छन् भने शहरबजारका महिलाले सुरक्षित उपाय अपनाउनुभन्दा लोकलाजको डरले जथाभावीरूपमा औषधि प्रयोग गर्छन् ।

अहिले गर्भनिरोधको अस्थायी साधन गर्भपतन हो भन्ने गलत बुझाइ छ । गर्भपतन आकस्मिक र अन्तिम प्रयोगमात्र हो । गर्भपतनलाई गर्भनिरोधको विकल्प मान्नुहुँदैन । आकस्मिकबाहेक यस्तो व्यवस्थालाई सुविधा मान्नु चरम विकृति हो । स्थानीय औषधि पसलबाट किनेर औषधि खाए गर्भपतन भइहाल्छ भन्ने गलत मान्यताका कारण गर्भवतीको ज्यान नै जान सक्ने अवस्था रहन्छ । जथाभावी औषधि बेच्ने र लुकिछिपी गर्भपतन गराउने औषधि पसलहरूको अनुगमन नहुँदा पनि असुरक्षित गर्भपतन समस्या बन्न पुगेको छ । असुरक्षित गर्भपतनले पार्ने दुस्प्रभावबारे समाजमा अझ बढी जनचेतना जगाउनु अपरिहार्य छ ।
– राधिका डोटेल, इलाम 

प्रतिक्रिया दिनुहोस्