‘शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता छ’ : शिक्षामन्त्री श्रेष्ठ



पुष्कर बुढाथोकी, भक्तपुर ।

शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । आज सानोठिमीस्थित शिक्षक सेवा आयोगको स्थापना दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजका सबै क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकाले यसको सुधार आवश्यक रहेको बताउनुभयो ।

शैक्षिक क्षेत्ररुपी मुहान शुद्घ भए समाजका सबै क्षेत्र शुद्घ हुने उहाँको भनाई थियो ।उहाँले शिक्षक सेवा आयोगले रचनात्मक,सिर्जनात्मक र नैतिकवान शिक्षक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले आयोगमा रीत्त रहेका पदाधिकारीको नियुक्तिको तैयारी भैरहेको र यसको छिट्टै टुंगो लाग्ने बताउनुभयो ।मन्त्री श्रेठले आलोचनाको समेत प्रवाह नगरी आफूले मन्त्रीको सपथ खाँदाको प्रतिबद्घता अनुसार नै काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्री पद काँडाको झ्याङ्गमा बसे जस्तो भए पनि टिम वर्कबाट परिणाम दिने र शैक्षिक क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । अहिले पनि २०२८ को संशोधित शिक्षा ऐनबाट मुलुकको शैक्षिक क्षेत्र चलिरहेको बताउँदै उहाँले शिक्षा लगायत समाजका अन्य क्षेत्रमा रहेका अस्थिरता,अराजकता,अन्यौल,अस्पष्टता र भ्रमको बादल चिर्न जरुरी रहेको बताउनुभयो ।

अन्यौलको अबस्थाबाट सत्यतथ्य निकाल्न नयाँ खालको नीति,बिधि र तरिकाले सोच्नुपर्नेमा जोड दिनुभयो ।बिभिन्न बिश्वबिद्यालय र शिक्षक सेवा आयोगको समेत बिधि र प्रकृयामा बिविधता रहेकोले यसमा एकरुपता ल्याउने बारे छलफल आवश्यक रहेको बताउनुभयो ।सबैलाई नेतृत्वमा पुर्याउने शिक्षक नै भएको बताउँदै कतिपय शिक्षकको दुखद अबस्थाप्रति उहाँले चिन्ता ब्यक्तगर्नुभयो ।

आफ्ना शिक्षकलाई बिर्सने र सम्मान गर्न नसक्ने बिद्यार्थीले मुलुक सम्हाल्न नसक्ने टिप्पणी गर्दैै उहाँले शिक्षकबाटै विद्यार्थीले अनुशासन सिक्ने बताउनुभयो । मन्त्रालय मातहतका निकायहरुमा धेरै बेरुजु रहेको आफूले जानकारी पाएको बताउदै उहाँले बेरुजुको उचाई घटाउन निर्देशन दिनुभयो ।

कुनै बिद्यालयमा बिद्यार्थी कम हुने शिक्षक बढी हुने तथा कतै शिक्षक कम र बिद्यार्थी बढी हुने समस्या समाधान गर्नु पनि जरुरी रहेको बताउनुभयो । शिक्षक जिउँदो भगवान जस्तै भएको भन्दै उहाँले अस्थायी शिक्षक,राहत शिक्षक,स्वयंसेबी शिक्षक देखि द्घन्द्घ पीडितसम्मका शिक्षक ब्यबस्थापनका समस्या रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छदैछ, फेरी अहिले द्धन्द्ध पीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एक मुष्ठ हल खोज्नु पर्छ ।”

आपूmले शिक्षा मन्त्रालय सम्हालेको धेरै समय नभएकाले धेरै कुरा बुझ्न अझै बाँकी भएको बताउनुभयो ।सानोठिमीमा शैक्षिक कार्यालयहरुको कति जग्गा छ खोजी र संरक्षण गर्दै आवश्यक भएका कार्यालयलाई भवन निर्माणका लागि जग्गा प्रदान गर्दै बाँकी बाँझो जग्गामा कृषि खेती गर्नुपर्ने बताउनुभयो ।

सानोठिमी भित्र शिक्षा मन्त्रालय अन्तर्गत रहेको जग्गाको पुनः नापी नक्सा गर्न र जमिन बाँझो नराख्न निर्देशन दिनुभयो । शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोगलगायतले भवन अपुग रहेको भन्दै जग्गा मागेकाले त्यसको हल पनि मन्त्रालयले गर्ने उहाँको भनाई थियो । शिक्षक सेवा आयोगको रिक्त पदाधिकारी छिट्टै नियुक्ती गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । शिक्षकको तालिम, सेवा, बृद्धि विकास आवश्यक रहेको भन्दै आयोगको ऐन परिवर्तन गर्दै स्वायत्तता दिनु पर्ने मैनालीले बताउनुभयो ।

त्यसअवसरमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताउनुभयो । शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनु पर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आयोग शिक्षा मन्त्रालयको छाँयाको रुपमा रहेको टिप्पणी गर्दै यसलाई स्वतन्त्र र स्वायत्त निकायको रुपमा लैजानु पर्ने बताउनुभयो । उहाँले कोरोनाको महामारीमा देशमा रहेका चार लाख शिक्षक र ८० लाख विद्यार्थी रहेकाले उनीहरुलाई कोरोना बिरुद्धको खोपको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो ।

आयोगका कामु प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले आयोगको विगत, वर्तमान् र भावी योजना एवं चुनौतीकाबारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा पूर्वअध्यक्ष गौतमलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्