प्रदेशसभामा घन्कियो ‘अल्पमतको सरकार राजीनामा दे’



न्युज अफ नेपाल, हेटौंडा ।

पूर्वसूचना दिएर आह्वान गरिएको बागमती प्रदेशको प्रदेशसभा बैठक अचानक ‘स्थगन’ पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् ।

नेतृ अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवन प्रांगणमा सोमबार नाराबाजी गरेका हुन् । आइतबार राति ९ बजेर १७ मिनेटमा प्रदेशसभा सचिवालयले आकस्मिकरुपमा बैठक सरेको सूचना जारी गरेको थियो ।

सोमबार बस्ने भनिएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलमाथिको अविश्वास प्रस्तावमा सदनमा छलफल हुने कार्यसूची थियो । तर, बैठक अचानक स्थगन गरिएपछि उक्त समूहका सांसद्हरुले हेटौंडास्थित प्रदेशसभा सचिवालयअगाडि नाराबाजी गरेका थिए । प्रदेशसभा सदस्यले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी गरेका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहका सांसद्हरुले ‘अल्पमतको सरकार राजीनामा दे’, ‘सभामुख सरकारको छाया बन्न पाइँदैन’, ‘प्रदेशसभा सञ्चालन गर’, ‘राष्ट्रघातीहरु होसियार’ भन्दै नारा लगाएका थिए । विरोध प्रदर्शनमा नेकपा नेतृ शाक्य, र निवर्तमान मन्त्री युवराज दुलाललगायतको उपस्थिति थियो ।

मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको उक्त समूहको आरोप छ । नाराबाजीअघि नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलले पत्रकार सम्मेलन गरी बैठक स्थगनको विरोध गरेको थियो ।

अविश्वास प्रस्तावमा निर्णायक मानिएको नेपाली कांग्रेससँगको सहमतिबिना मुख्यमन्त्रीका रुपमा प्रस्तावित शाक्यले सभामुख सानुकुमार श्रेष्ठ सरकारको लाचार छाया बनेको आरोप लगाउनुभयो ।

उहाँले अविश्वास प्रस्ताव पारित हुने डरले सभामुखलाई प्रयोग गरिएको बताउनुभयो । शाक्यले सबै सदस्य बैठकमा भाग लिन हेटौंडा आइसकेपछि राति विद्युतीय सूचना जारी गर्दै बैठक स्थगनको सूचना आउनु विधि र पद्धतिविपरीत भएको जनाउँदै सभामुखले उक्त निर्णय फिर्ता लिँदै बैठक राख्नुपर्ने माग गर्नुभयो ।

उहाँले दलको छलफलबिना बैठक सारिनु गलत भएको बताउनुभयो । उहाँले बैठक तत्काल बोलाउन पाउने अधिकार सभामुखमा सुरक्षित रहेको र सभामुख सबैको साझा भएकाले सबैसँग छलफल गरेर निर्णय लिनुपर्ने औंल्याउनुभयो ।

प्रदेशसभा उपसभामुख राधिका तामाङले बैठक स्थगन गर्नेबारे आफूलाई पनि पूर्वजानकारी नभएको बताउनुभयो । बैठक स्थगनबारे आफू बेखबर रहेको उहाँले जानकारी दिनुभयो ।

निवर्तमान मन्त्री शालिकराम जम्कट्टेलले कार्यव्यबस्था परामर्श समितिको बैठकसमेत नबसी बैठक स्थगन भएकोमा आपत्ति जनाउनुभयो । नेकपा प्रदेश संसदीय दलका उपनेतासमेत रहनुभएका जम्कट्टेलले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव छलफलका लागि पेश भइसकेकाले तत्काल बैठक राखेर उक्त प्रक्रिया अगाडि बढाइनुपर्ने माग गर्नुभयो ।

जम्कट्टेलले २०७४ सालमा नेपाली जनताले दिएको अभिमतले प्रदेशमा नेकपाकै सरकार बनेको तर पुस ५ मा पार्टीका ‘तत्कालीन अध्यक्ष’ प्रधानमन्त्री केपी शर्माओलीले नेपाली जनताको चाहना, इच्छाविपरीत प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र समाप्त पार्ने खेल खेलेको भएको भन्दै आक्रोश पोख्नुभएको थियो ।

अविश्वास प्रस्ताव प्रदेशसभामा पेश गर्दै पूर्व उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपा संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीका रुपमा शाक्यलाई प्रस्ताव गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रचण्ड–माधव समूहका नेता/प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले ४५ सांसद्ले हस्ताक्षर गरेको हुँदा अब ११ जना सांसद् जरुरी रहेकोले सो पूरा गरी जसरी पनि मुख्यमन्त्री पौडेललाई पदमुक्त गराएरै छाड्ने दाबी गर्नुभयो ।

प्रदेशसभामा १ सय १० सदस्य छन् । जसमा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ र स्वतन्त्र सांसद् एक छन् ।

एक दिनअघि प्रदेशसभाले सूचना जारी गर्दै ‘विशेष कारणवशः बैठक स्थगन गरिएको’ जनाएको थियो । प्रदेशसभाको अर्को बैठक सभामुख श्रेष्ठले फागुन ५ गते अपराह्न २ बजे बस्ने गरी स्थगन गर्नुभएको छ ।

आइतबार बागमती प्रदेशसभाको तेस्रो वार्षिकोत्सव मनाइएलगत्तै प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै फागुन ५ गते २ बजे बैठक बस्ने उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्