ग्याल्मोलाई राष्ट्रिय पुरस्कार, हार्मोनीलाई युवा पुरस्कार



हेटौंडा, (नेस)

भीम विराग कला, संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले भारतको दार्जलिङ निवासी गायिका दाबा ग्याल्मोलाई बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार–२०७७ बाट सम्मानित गरेको छ। प्रतिष्ठानले शनिबार एक कार्यक्रमबीच उनलाई नगद १ लाख रुपियाँसहित संगीत पुरस्कार समर्पण गरेको हो।

नेपालको संगीत क्षेत्रमा लामो समय बिताउ“दै हालसम्म पनि संगीत साधनामा सक्रिय जीवनयापन गर्दै आएकी ग्याल्मोलाई सम्मान गरिएको हो। उनले दर्जनौं गीत गाएकी छन्।

सन् १९५४ मा भारतको दार्जलिङमा जन्मिएकी ग्याल्मोका दर्जनौं गीत लोकप्रिय छन्। सानैदेखि सांगीतिक यात्रामा समर्पित उनले नेपाली गीतगायनमा उल्लेखनीय योगदान पु-याएकी छन्।

शहरभित्र केको हल्ला, फूलको डालीडाली, किनकिन उदास, आँखाभित्र जस्ता चर्चित गीतकी गायिका हुन् ग्याल्मो। ग्याल्मो विद्यालय र क्याम्पसमा गीत गाउँदै सांगीतिक यात्रामा अगाडि बढेकी हुन्।

उनले सन् १९७० मा कक्षा १० मा पढ्दै गर्दा नेपालका तत्कालीन राजा महेन्द्रको जन्म दिवसमा दार्जलिङबाट छनोटमा परी पहिलोपटक नेपालमा आएर प्रस्तुति दिएकी थिइन्। उनले कर्म योञ्जन, गोपाल योञ्जन, अम्बर गुरुङ, वसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, मणिकलाल क्षेत्री, दिव्य खालिङ, शान्ति ठटाल, जितेन बर्देवा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत संगीत स्रष्टासँग काम गरिसकेकी छन्।

प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्य तथा संगीतमा योगदान पु-याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारलाई १ लाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ। २०६४ सालमा हेटौंडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट बिजुली माया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरी प्रतिष्ठानको व्यवस्थापनमा समर्पण गर्दै आएका छन्।

प्रतिष्ठानले राष्ट्रियस्तरमा संगीत साधनामार्फत योगदान दिँदै आएकालाई २०६४ देखि सम्मान गर्दै आएको छ।विशेष सांगीतिक कार्यक्रमसाथ १२औं संस्करणका रूपमा सोही समारोहमा प्रतिष्ठानले पहिलोपटक २० हजार राशिको भीम विराग संगीत युवा पुरस्कार–२०७७ दक्षिण एसियाकै महिलाको पहिलो सांगीतिक समूह हार्मोनी महिला गायन समूह पोखरालाई प्रदान गरेको छ।

नेपाली सुगम संगीत तथा महिला गायन संरक्षण, सम्वद्र्धन र प्रशिक्षणसँगै प्रवद्र्धन गर्ने उद्देश्यसाथ स्थापना गरिएको हार्मोनी पोखरा एसियाकै पहिलो महिलाद्वारा सञ्चालित संगीत संस्था हो। पोखराका सुगम संगीतमा क्रियाशील महिलाले खोलेका एक उदाहरणीय संस्था हो, हार्मोनी।

संस्थाले सुगम संगीत गाइरहेका महिलालाई संगठित गर्ने काम गर्दछ । २०७३ सालमा खुलेको संस्थाले सुगम संगीत क्षेत्रमा लागेका महिलाको अनुभव साट्ने र क्षमता विकास तथा आफै मञ्च निर्माण गर्ने गरेको छ। सुगम संगीतसम्बन्धी स्टुडियो प्रायः काठमाडौंमै रहेको समयमा गायिकाहरु पनि बढी काठमाडौं केन्द्रित भएको र मोसफलबाट उठ्न संघर्ष बढी गर्नुपर्ने भन्दै हार्मोनी समूह बनाइएको हो।

सुगम संगीतमा गीत गाइरहेका, चलेकादेखि नयाँ पुस्तासम्मका १३ जनाबाट शुरु गरिएको समूहमा हाल ३० जना सदस्य बनेको हार्मोनी समूहले बताइएको छ।
प्रतिष्ठानले यसअघि संगीतकार अम्बर गुरुङ, गायक तथा संगीतकारहरु प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमानराज भण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन र चेतन कार्कीलाई सम्मानित गरिसकेको छ। प्रतिष्ठानले स्थापनाकालदेखि हालसम्म साहित्य, संगीत, सांस्कृतिक र कला क्षेत्रमा १० वटा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्