सीमा क्षेत्रमा छ्याप्छ्याप्ति भारतीय चिठ्ठा, प्रहरीको लापरवाही



उत्तम नेपाल, भद्रपुर ।

नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठा नेपाली सीमा बजारमा छ्याप्छ्याप्ति बिक्री भइरहेपनि प्रहरी प्रशासनले कुनै चासो देखाएको छैन । वेला बखत प्रहरीले नियन्त्रणमा लिएपनि लेनदेनको कुरा मिलाएर ती कारोबारीलाइ छाडदै आएपछि रोकथाम भएको पाइदैन ।

भद्रपुरमा चिठ्ठाका घट्ना पटक – पटक दोहोरी रहेपनि चिठ्ठासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आपसी सहमतिमा पटक– पटक छाड्दै आइरहेका कारणले प्रहरीकै संरक्षणमा यो कारोबारले निरन्तरता पाएको छ ।

भारतका र नेपालका केही युवा समूह दिनभर झापाको भद्रपुर र चन्द्रगढीमा चिठ्ठा बिक्रीवितरणमा व्यस्त देखिएपनि प्रहरीबाट कुनै रोकावट छैन । प्रहरीलाई पूर्व जानकारी हुदा समेत उनीहरु हाल सम्म पक्राउ पर्दैनन् । परिहालेपनि आपसी सहमतिमा छुट्ने गरेका छन् । वडा प्रहरी कार्यालयको आसपासबाट ती युवाले चिठ्ठा बोकेर भद्रपुर आउने गरेका छन् ।

मुख्यगरी भद्रपुरको बजारमा रहेको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास कामेश्वर कम्प्लेक्स , सब्जी लाइन , सुन पसल ,बस पार्क, गिरी चोक, चन्द्रगढीका सुन लाइनमा भारतीय चिठ्ठाको खरिद बिक्री हुने गरेको पाइएको छ ।

भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिठ्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिठ्ठा खेल्ले लतनै बसीसकेको पाइएको छ । भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिठ्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुन थालेको छ ।

केही समय अघि वडा प्रहरी कार्यालय भद्रपुरले स्थानीय दुइजना युवालाइ चिठ्ठासहित भद्रपुर बजारबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले एकजनाबाट २० र अर्कौबाट १० हजार रुपैयाँ लिएर उनीहरुलाइ छाडेको घट्ना वाहिर आएको छ । यस्ता घट्नाले भारतीय चिठ्ठा नियन्त्रण हुन सकेको छैन । अहिले बजारमा १०,२५,५०,१०० र २०० सीरीजका चिठ्ठा भद्रपुर तथा चन्द्रगढी क्षेत्रमा बिक्री भइरहेका छन् । नेपाली समय अनुसार दिउँसो १२ बजे ,अपरान्ह् ४ बजे र वेलुका ८ बजे खुल्दै आइरहेको छ । चिठ्ठा बिक्री वितरणमा प्रहरीले कडाइ नगरेका कारण घरायसी झगडा बढ्दै गएको एक सुन व्यवसायीले बताउँनुभयो । लत बसेकै कारण खेल्न मन लागिरहने उहाँको भनाइ छ ।

कुनै पीडित व्यक्तिबाट लिखीत उजुरी नपरेसम्म यो विषयमा जानकारी नहुने जिल्लाका डिएसपी राकेश थापाले बताउँनुभयो । उजुरी परेमा कानुन व्यवसायीसँग परामर्श लिइने उहाँको भनाइ छ । प्रहरीले देखेसम्म उनीहरुलाइ पक्राउ गरिरहेको उहाँको भनाइ छ ।नेपालमा प्रतिबन्धीत चिठ्ठाको कारोबार गर्नु कानून विपरीत भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउँनुभयो । यो विषयमा प्रहरीलाइ तुरुन्त जानकारी गराउँने उहाँले जानकारी दिनुभयो । यस्तो कार्य गरेको फेला पारेमा कानुनी कारबाही हुने उहाँको भनाइ छ ।

चिठ्ठाको विषयमा प्रहरीलाइ जानकारी दिएपछि आइतबार विहान ११ बजे भद्रपुर ५ बस पार्कबाट चिठ्ठा बेचिरहेको अवस्थामा प्रहरीले चिठ्ठासहित भारत बङ्गाल डाँगीजोत बस्ने २२ वर्षिय मोहमद समिर नाम बताउने व्यत्तिलाइ नियन्त्रणमा लिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । युवकको साथबाट ४ हजार मूल्य बराबरका पन्ध्रठेली चिठ्ठा बरामद गरिएको उहाँको भनाइ छ । थप अनुसन्धानसहित कानूनी कारबाहीका लागि जिल्लामा राखिएको उहाँले जानकारी दिनुभयो ।

चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । कुनै चिठ्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आफू साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ । भन्ने चिठ्ठा ऐनमा प्रस्ट व्यवस्था छ ।

तर, कानून कार्यान्वय गर्ने निकायले यसतर्फ ध्यान पु¥याउन नसकेकोले नेपाली सिमावर्ती बजार क्षेत्रमा भारतीय चिठ्ठा खेलले दैनिक लाखौ रकम भारत गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्