सरकारले कोरोना खोपप्रति विश्वस्त पारेन



बुधबार भारतले अनुदानमा प्रदान गरेको कोरोना महामारीकिरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोेरोनाविरुद्धको खोपले खोप लिनेहरुमा कुनै समस्या नआउने भएकाले ढुक्क भएर लगाउन आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालबाट खोप अभियान शुरू गरेका छन् ।

प्रधानमन्त्री ओली कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्न पाउँदा झनै उत्साहित देखिन्थे । ओलीले आगामी ३ महिनाभित्र सबै नागरिकले निःशुल्क कोरोनाविरुद्धको खोप पाउने पनि घोषणा गरे । पहिलो चरण देशका सातै प्रदेशमा एक साथ कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ भएको छ ।

पहिलो चरणमा देशभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतलाई खोप लगाइँदै छ । पहिलो दिनमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाए । साथै डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।

संसारका थुप्रै देशमा कोरोनाविरुद्धको खोपको परीक्षण भइसकेको छ । यस्तैमा खोप लगाएका केही व्यक्तिहरुमा यसले केही साइड इफेक्ट पनि देखाएको छ । कोरोनाविरुद्धको सो खोप लगाएका केही व्यक्तिले ज्यानसमेत गुमाएका छन् । नेपालमा पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउँदा खोप लगाएका व्यक्तिहरुमा यसको प्रभाव कस्तो देखिन्छ, त्यो हेर्न बाँकी छ । तर खोपले साइड इफेक्ट देखाएर व्यक्तिको मृत्यु नै भयो भने सरकारले जिम्मा लिनेछैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप लगाएर स्वास्थ्य समस्या आए सरकारले उपचार गर्नेछ ।

यद्यपि मृत्यु नै भएको खण्डमा सरकार जिम्मेवारीबाट पन्छिने देखिएको छ । कोरोनाविरुद्धको खोप लगाउँदा यदि कसैलाई केही भइहाले सामान्य राहत तथा बिमा कार्यक्रम घोषणा गर्न सकिन्थ्यो । हाल पहिलो चरणमा कोरोना खोप लगाएका कुनै पनि व्यक्तिमा नराम्रा असर देखिए जनमानसमा नकारात्मक सन्देश जाने हुनाले पनि सरकार संवेदनशील बन्न जरुरी छ । तर काम चलाउ सरकार भइसकेको ओली सरकारले घोषणा गरको आगामी मध्यावधि निर्वाचन लक्षित तामझाम गरिरहको जानकारहरु बताउँछन् ।

केही समयअघि नेपाल–भारत सम्बन्ध चिसिएको थियो । नयाँ नक्सा प्रकाशन तथा कालापानी, लिपुलेक विवादका कारण दुई देशबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो । यद्यपि प्रतिनिधिसभा विघटन र पार्टी विभाजन भएपछि ओली भारतसँग नजिक हुन अनेक तिकडम गरिरहेका छन् । यस्तोमा मित्रराष्ट्रले निःशुल्क अनुदानमा दिएको खोपलाई यसरी तामझामका साथ उद्घाटन गरिरहँदा हामी आफ्नै क्षमताले खोप किन्ने अवस्थामा कहिले पुग्ने भन्ने प्रश्न पनि उठेको छ ।
– विश्व नेपाल, ललितपुर ।

स्वाथ्यवद्र्धक चम्सुरको साग

शुद्ध र हल्का मानिने चम्सुर व्रत बसेको बेलामा निकै उपयुक्त मानिन्छ । यो सागलाई निकै शुद्ध साग पनि भनिन्छ । निकै स्वादिलो हुने चम्सुरको साग खाँदा हाम्रो शरीरलाई फाइदा पुग्छ । चिसो, रुघाखोकी, जीउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्छ ।

प्रचूर मात्रामा भिटामिन पाइने सागको सेवनले शरीरका विजातीय (काम नलाग्ने) पदार्थहरू हटाउँछ ।
त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डण्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । चम्सुरको दाना खिरमा हाली पकाएर खाँदा शक्ति बढाउँछ । यसले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ ।

– सपना झा, बारा ।

प्रतिक्रिया दिनुहोस्