४४१ को बहुमत जता छ उही मूल पार्टीे : माधव नेपाल



यमलाल भुसाल, बुटवल ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहद्धारा बिहीबार बुटवलमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले ४४१ केन्द्रीय सदस्यलाई मात्रै मान्यता दिएकोले आफूहरूनै आधिकारिक भएको दाबी गर्नुभएको हो ।

‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो,’ नेपालले भन्नुभयो ।

नेता नेपालले आफूहरूको पक्षमा देशैभरी लहर रहेको बढेको दाबी गर्नुभयो । पार्टीका सच्चा नेता कार्यकर्ताहरु आफुहरुसँगै रहेको दाबी गर्दै नेपालले ओलीको जालझेलमा फसेका र केही सिमित स्वार्थीहरुमात्रै केपी ओलीको प्रतिगमनको पक्षमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओली जनताको खुसी र मुलुकको समृद्धिमा भन्दा अरुलाई घोचपेज बद्ख्वाइमा रमाउने गरेको भन्दै नेपालले ओलीको तानाशाही बन्ने सपनाकै कारण पार्टी फुटेको बताउनुभयो ।

तत्कालिन राजा ज्ञानेन्द्रको प्रतिगमनका बिरुद्ध तत्कालिन सात राजनीतिक दल र नेकपा माओवादीबीच संयुक्त आन्दोलन गर्ने सहमति गरेर आउदा ज्ञानेन्द्रका बिरुद्ध आन्दोलन ! भन्दै वयलगाडा चढेर अमेरीका पुगिन्न भन्ने टिप्पणी गर्ने ओलीले आफ्नो चाहना बिपरीत आएको संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्न लागि परेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीको ज्यादती बयान गरेर साध्य नभएको भन्दै उनले उनका ज्यादतीबारे लेखिएको डायरी देखाउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा प्रस्तावित गरेको व्यक्ति केपी शर्मा ओली सामन्ती निरंकुशताको एजेण्ट बनेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेकै कारण पार्टी बिभाजन भएको भन्दै अध्यक्ष प्रचण्डले ओलीको निरंकुश शासक बन्ने लालसा पुरा नहुने दाबी गर्नुभयो ।

‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गर्नुभयोे । ‘मलाई विश्वास छ, अदालतले संसद पुनःस्थापना गर्नेछ । केही आशंका गर्दिनँ तर सबभन्दा ठूलो अदालत जनता हो, तपाईंहरूको फैसला अन्तिम हुनेछ, ।’दोस्रो जनआन्दोलनको पृष्ठभूमि बुटवलले बनाएको भन्दै प्रचण्डले यसपटक पनि बुटवलको आन्दोलनले प्रतिनिधिसभा विघटनको प्रतिगमनलाई सच्चाउने दावी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको निरंकुशता केही महिनामै अन्त्य हुने दाबी समेत गर्नुभयो । नेकपा स्थायी समिति सदस्य तथा नेकपा प्रचण्ड–नेपाल समूहका लुम्बिनी प्रदेश इन्चार्ज प्रधानमन्त्री ओली कम्युनिष्टनै नभएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओली कम्युनिष्टको खोल भिरेका राष्ट्रघाती भएको उहाँको आरोप थियो ।त्यस्तै नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओली राजा र राणाको ‘निरङ्कुशताको प्रेत’का रुपमा खडा भएकोे बताउनुभयो । करोडौ जनता केही होइनन् पार्टी भनेको पनि मैहुँ प्रधानमन्त्री भनेको पनि मैहुँ भन्ने ओलीको पतन असम्भावी छ नेता भुसालले भन्नुभयो ।

नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा अगाडि आएको उहाँको भनाई थियो । आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उहाँले भन्नुभयो, ‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।’

त्यसविरुद्ध आफूहरु खडा भएको भएको भन्दै भुसालले ओलीको पतन निश्चित रहेको बताउनुभयोए । ‘सडकमा हराइन्छ, अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो ? जनतालाई भन्नुपर्नेछ’ भुसालले भन्नुभयोे ।

नेकपा प्रचण्ड–नेपाल समूह लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेको अध्यक्षतामा सम्पन्न बिरोध सभामा नेकपा स्थायी समिति सदस्य बर्षमान पुन,स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री चक्रपाणी खनाल,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती,केन्द्रीय सदस्य बामदेव क्षेत्री लगायतले बोल्दै प्रधानमन्त्री ओलीको जालझेल र भ्रममा नपरी प्रचण्ड–नेपालले नेतृत्व गरेको मूल पार्टी नेकपामा समाहीत हुन पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियोे ।

पूर्व माओवादी पृष्ठभूमिका नेताहरूले कित्ता परिवर्तन गरेर सरकारमा सहभागी भएका मन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहले बिहीवार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्व माओवादी नेताहरूले सरकारमा सहभागी मन्त्रीको चर्को विरोध गरेका हुन् ।

स्थायी कमिटी सदस्य चक्रपाणि खनालले सरकारमा सहभागी मन्त्रीहरूलाई अनुहार चिन्ने गरी मात्र खरानी घस्न सुझाव दिनुभयो । ‘अहिले मन्त्री खान जाने बेला हो ? यति धेरै खरानी घस्ने ? ऐनमा हेर्दा चिन्ने गरी मात्र घस, ताकि तिमीहरूको इतिहास हामीले बताइदिनुपर्नेछ,’ खनालले भन्नुभयो, ‘हिजो हामी जनसेनालाई दुत्कार्नेले आज कालीबहादुर चाहिने, काखी च्याप्दै हिँड्ने ?’

सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य ओनसरी घर्तीले सरकारमा सहभागी भएर रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापाले प्रतिगमनको रक्षा गरेको आरोप लगाउनुभयो ।

‘विचार दृष्टिकोण छाडी पद प्रतिष्ठाको पछाडि लाग्नुभयो, तपाईंहरू गद्दार भएमा क्रान्तिकारीले प्रतिकार गर्नेछन्,’ घर्तीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्