गीतकार बोहरालाई लाइफटाइम अवार्ड परियार र पन्त उत्कृष्ट



प्राज्ञ तथा गीतकार उन्नती शिला बोहरा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छिन्। गीतकार बोहरा राजधानीमा सम्पन्न सातौं नेसनल क्यापिटल अवार्ड २०७७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकी हुन्। क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा सम्पन्न कार्यक्रममा शिव परियार र अञ्जु पन्तले उत्कृष्ट गायक गायिकाको अवार्ड चुमे। गायक परियारले मेरो भागको खुसी गीतबाट अवार्ड चुमेका थिए भने पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन्।

त्यस्तै लोकदोहोरीतर्फ गायक सञ्जय गुरुङ र गायिका सीता केसी उत्कृष्ट गायक गायिकाको अवार्ड चुम्न सफल भए। दीप गुरुङलाई उत्कृष्ट लोकदोहोरी निर्देशकको अवार्ड दिइएको कार्यक्रममा काजिस श्रेष्ठले उत्कृष्ट कोरियोग्राफरको अवार्ड पाए। उत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड अमृत खातीले लिए। सुगम संगीततर्फ विकास चौधरी संगीतकार, हरि उप्रेती गीतकार, गौतम खाती र श्रेया दुलाल म्युजिक भिडियो मोडलको अवार्ड विजेता भए।

त्यसैगरी चिरञ्जीवी भण्डारी पप गायक, उषा मलाहा पप गायिका, लक्ष्मी पुरी प्रधान लोकप्रिय वर्ष पप गायिका, सुगम संगीततर्फ इन्दु बानियाँ लोकप्रिय वर्ष गायिका भइन्। अनिता गिरी उत्कृष्ट पप म्युजिक भिडियो मोडल हुँदा सुनिल लामिछाने लोकप्रिय वर्ष मोडल भए। मौलिक गीतअन्तर्गत कौडातर्फ गायक प्रकाश गुरुङ र गायिका दीप गुरुङलाई अवार्ड दिइयो भने अविनाश थापा मगरले मौलिक शब्दको अवार्ड लगे।

संगीतकार रामु खड्काले लोकदोहोरी भाकाको अवार्ड चुम्दा सालैजोतर्फ बबिता गुरुङ उत्कृष्ट गायिका भइन् भने देवमान तण्डुकारले उत्कृष्ट नेवारी भाषा गायकको अवार्ड पाए। कार्यक्रममा पत्रकार शान्तिप्रियलाई पत्रकारिता रजत सम्मानबाट सम्मानित गरियो भने गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान प्रदान गरियो।

गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशक संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राज कर्णिकारलाई साहित्य सम्मान तथा पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो। कार्यक्रममा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकारले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने गायिका मञ्जु पौडेल, गायक गणेश गुरुङ, राज सागर र प्रकाश गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्