‘पल्सर स्पोर्टस् अवार्ड’को तयारी पूरा



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५आंै वर्ष मनाउने क्रममा पुस २८ गते मंगलबार १७औं ‘पल्सर स्पोर्टस् अवार्ड’ कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्दै छ ।

कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको हो । मञ्च २०५२ साल भदौ २५ गते स्थापना भएको हो । कोरोनाका कारण मञ्चले आफ्नो रजत वर्षलाई थप कार्यक्रम गरेर मनाउन पाएन ।

खेलकुद पत्रकारितालाई व्यावसायिक र संगठित रूपमा अघि बढाउने उद्देश्यले स्थापित मञ्चले धेरै आरोह र अवरोध पार गर्दै आएको छ । खेलकुद पत्रकारितासँगै खेलाडी र खेलकर्मीको प्राप्त उपलब्धिलाई सम्मान गर्न मञ्चले आफ्नो स्थापनाकालदेखि नै अवार्ड कार्यक्रम शुरुआत गरेको थियो ।

शुरुआतका केही वर्ष आयोजना गरे पनि यसले नियमितता पाउन सकेको थिएन । २०६० सालमा नयाँ नेतृत्व आएसँगै अवार्ड कार्यक्रमले निरन्तरता पाएको थियो । तर, विनाशकारी भूकम्पका कारण वर्ष २०७२ मा अवार्ड कार्यक्रम आयोजना हुन सकेन । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यस वर्ष पनि सहज ढंगले अवार्ड आयोजना गर्नसक्ने अवस्था थिएन ।

तर, घरेलु भूमिमा आयोजित नेपाली खेलाडीका लागि ठँलो खेल महोत्सव १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न पनि ‘स्पोर्ट्स अवार्ड’ आयोजना गर्नुको विकल्प थिएन । यस विषम परिस्थितिबीच १७औं संस्करणको अवार्ड कार्यक्रम सम्पन्न गर्ने संघारमा आइपुगेको जानकारी गराउन पाउँदा गौरवान्वित र हर्षित भएको मञ्चले जनायो ।

अवार्डको विभिन्न चारवटा राष्ट्रिय टेलिभिजनहरू एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको युट्युब र फेसबुक पेजसहित विभिन्न सञ्चारमाध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ ।

यस वर्षसमेत पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

‘पिपल्स च्वाइस’ विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् । ई–सेवामार्फतको भोटिङ, फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै ‘पारा एथलिट सम्मान’, ‘स्पेसल, लाइफटाइम एचिभमेन्ट’, ‘टिम अफ द इयर अवार्ड’ र ‘अन्तर्राष्ट्रिय खेल पत्रकार’को सम्मान कार्यक्रमकै दिन मंगलबार घोषणा गरिनेछ । ‘वर्षका उत्कृष्ट पुरुष’, ‘उत्कृष्ट महिला’, ‘उत्कृष्ट प्रशिक्षक’ र ‘पिपल्स च्वाइस’ विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाई) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंघी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्