अधुरोपन महसुस हुँदा के गर्ने !



  • प्रेम रावत

सबैभन्दा ठूलो कुरा के हो भने, जीवनमा तपाईँलाई आनन्द, शान्ति प्राप्त हुन सकोस् । सोच विचार गर्ने अवसर मिल्न सकोस् ।
हाम्रो जीवनमा आइलाग्ने विघ्न–बाधाहरूलाई हामीले कुनै न कुनै रूपमा सामना गर्न सक्नुपर्छ । यो मानिसका लागि अत्यन्तै आवश्यक कुरा हो । हामी रामायण तथा महाभारतको कथा पनि सुन्छौँ । ती कथामा मानिसले कुनै न कुनै तरिकाले कैयन् बाधा–व्यवधानहरूलाई सामना गर्नुपरेका थुप्रै प्रसङ्गहरू उल्लेख भएका छन् ।

जसले तिनलाई सामना गरे, जो विजयी भए तिनैले आफ्नो जीवनमा आनन्दको महसुस गर्न पाए । त्यो शान्ति र आनन्द महसुस गरे । अब कुरा के हो भने, हाम्रो जीवनमा यदि अलिकति पनि कुनै दुःख महसुस भयो भने हामीले आफ्नो धैर्यताको बाँधलाई तोडिदिन्छौँ । आफ्नो आनन्दलाई भुलिदिन्छौँ । ‘मलाई के हुने हो’ भन्ने भय हामीलाई भइरहन्छ । मानिसमा जुन शक्ति र सक्षमता हुनुपर्ने हो, जसको कारणले कुनै पनि समस्यालाई समाधान गर्न सकिन्छ, त्यस्तो बेलामा त्यो शक्ति र सक्षमता पनि कार्य गर्न अक्षम हुन्छ ।

शान्तिको प्यास सामान्य तिर्खा होइन । त्यो पानीका लागि लाग्ने तिर्खाजस्तो पनि होइन । शान्तिको तिर्खा त एउटा आवश्यकता हो । जबसम्म मानिसले त्यो चीजलाई प्राप्त गर्दैन तबसम्म उसले आफ्नो जीवनमा अधुरोपनको महसुस गर्नेछ ।अनि, जबसम्म उसले अधुरोपनको महसुस गरिरहन्छ तबसम्म त्यो अधुरोपनको निवारणार्थ मानिस कोशिश गरिरहन्छ ।

मानिसहरू कपोलकल्पित कुरामा विश्वास गर्छन् । यसकारण वास्तविकतालाई भुल्छन् । जुन वास्तविकताका बारेमा म कुरा गरिरहेको छु त्यसलाई बुझ्ने कोशिश गर्नुहोस् । म तपाईँले विश्वास गर्नुपर्ने विषयका बारेमा कुरा गर्न चाहन्न । म त तपाईँसँग भएको वर्तमान समयका बारेमा कुरा गरिरहेको छु । त्यो के हो भने, यो श्वास आइरहेको छ अनि गइरहेको छ ।

तपाईँको जन्म भयो, फलस्वरूप तपाईँ यो पृथ्वीमा हुनुहुन्छ । यो पृथ्वीमा तपाईँ आउनुभएदेखि नै तपाईँले दुःख पनि झेल्नुपरेको छ अनि सुख पनि प्राप्त भएको छ । तपाईँले घृणा पनि सहनुपरेको छ अनि तपाईँलाई माया पनि प्राप्त भएको छ । तपाईँसँग सपना छ तर त्यो सपना पनि तपाईँको होइन । यो दुनियाँको सपना हो । यो दुनियाँले तपाईँलाई तपाईँको सपना यस्तो हुनुपर्छ भनेर बताइदिन्छ । कोही नेता बन्ने सपना देख्छन् । कोही ठूलो जागिरको सपना देख्छन् ।

कोही बालबच्चाको सपना देख्छन् । ती सबै सपना नै हुन् । अनि, सपना देखिरहेका छन् । सपनालाई साकार पार्न मानिस कटिबद्ध भएको छ । उसलाई त आफ्नो जीवनमा त्यो सपना पूरा होओस् भन्ने चाहनाले लखेटिरहन्छ । सबैजना आफ्ना सपना पूरा गर्ने चक्करमा घुमिरहेका छन् ।

सपना देख्नका लागि आफ्नो आँखालाई बन्द गर्नुपर्छ । जब तपाईँ सुत्नुहुन्छ तब न सपना देख्नुहुने हो । यो कुनै विश्वास गर्नुपर्ने विषयको कुरा पनि होइन । के तपाईँ आफ्नो जीवनमा त्यो सपनालाई साकार पार्न चाहनुहुन्छ या त्यो कुरालाई पूरा गर्न चाहनुहुन्छ, जुन चीजको वास्तवमा तपाईँलाई तिर्खा लागेको छ ?

सबैभन्दा पहिलो त आफ्नो जीवनमा त्यो प्यासलाई खोज्नु आवश्यक छ । त्यो प्यास त शान्तिको प्यास हो । त्यो शान्तिको प्यास सामान्य तिर्खा होइन । त्यो पानीका लागि लाग्ने तिर्खाजस्तो पनि होइन । शान्तिको तिर्खा त एउटा आवश्यकता हो । जबसम्म मानिसले त्यो चीजलाई प्राप्त गर्दैन तबसम्म उसले आफ्नो जीवनमा अधुरोपनको महसुस गर्नेछ ।

अनि, जबसम्म उसले अधुरोपनको महसुस गरिरहन्छ तबसम्म त्यो अधुरोपनको निवारणार्थ मानिस कोशिश गरिरहन्छ । उसलाई अधुरोपन महसुस भइन्जेलसम्म ऊ अपुरो हुन्छ तथापि एउटा चीजलाई उसले चिन्न सक्छ । पहिचान गर्न सक्छ । जबसम्म उसले त्यसलाई चिन्दैन, पहिचान गर्दैन तबसम्म उसले अधुरोपनको महसुस गर्दछ तर उसको चाहना भने अधुरोपनको महसुस गर्नुचाहिँ होइन ।

मानिसले महसुस गरिरहेको अधुरोपनलाई उसले कसरी पूरा गर्न सक्छ ? वास्तवमा मानिसले सपना देखिरह्यो अनि ऊ सपनालाई साकार पार्ने चक्करमा फसिरह्यो ! मानिसले आफ्नो जीवनमा चाहे जतिसुकै सपनालाई साकार पारे पनि जबसम्म त्यो वास्तविक चीजसँग सम्बन्ध गाँस्दैन तबसम्म त्यो अधुरोपन समाप्त हुँदैन । अधुरोपनलाई महसुस गर्नु नपरोस् भनेर सपनालाई पूरा गर्ने प्रयासका कारणले गर्दा मानिसमा एउटा बानीको विकास भएको छ ।

अनि, यो अधुरोपन कसरी पूरा हुन्छ त ? यसका लागि म एउटा उदाहरण दिन चाहन्छु । तपाईँको जुत्तामा एउटा ढुङ्गा पस्यो । तपाईँलाई हिँड्नका लागि गाह्रो भइरहेको छ । तपाईँलाई हिँड्न गाह्रो भइरहेको कारणले गर्दा तपाईँ डाक्टरकहाँ जानुहुन्छ । डाक्टर भन्छन्, ‘बिराम के हो ?’ तपाईँ भन्नुहुन्छ, ‘जब म हिँड्न शुरु गर्छु, मेरो खुट्टामा बिझाउन थाल्छ ।’ अनि, डाक्टर भन्छन्, ‘ठीक छ, यो ट्याबलेट खानुहोस् । यो बिझाउने समस्यालाई कम गर्ने औषधि हो । दुखाइका लागि यो ट्याबलेट खानुहोस् । तपाईँको दुखाइ हट्छ ।’

औषधि सेवन गरेपछि त्यसबाट हुन सक्ला केही फाइदा त भयो नै होला तर हिँड्न शुरु गरेपछि पुनः दुख्न थाल्छ । कसैले भन्छन्– ‘यसो गर, त्यसो गर अनि पीडा निवारण हुन्छ ।’ तथापि, कसैले पनि ‘आफ्नो जुत्ता खोलेर त्यो ढुङ्गोलाई फाल’ भनेर सल्लाह दिँदैनन् । जसले तपाईँलाई यो सल्लाह दिन्छन् नि, उनै मात्र सक्कली हुन् ।

तपाईँलाई तिनैको आवश्यकता छ । यदि कुनै विपन्न मानिस घरमा छन् अनि पानी परिरहेको छ । उनको छानोबाट पानी चुहिरहेको छ । उनले ‘यो पानी नै नपरोस्’ भनेर चाहना राखे पनि समस्याको हल त्यो त होइन । पानी नपरोस् भनेर तपाईँले अवश्य पनि इच्छा प्रकट गर्न सक्नुहुन्छ । र पनि, पानी त पर्छ नै, आँधीबेहरी त आउँछ नै ।

रात पनि पर्छ । दिन पनि हुन्छ अनि सूर्योदय पनि हुन्छ । सूर्य अस्ताउँछ पनि । यी सबै कुरा हुन्छन् । यो त वास्तविकता हो । तपाईँ चाहनुहोस् या नचाहनुहोस्, त्यस कुराले केही पनि फरक पर्दैन । तर, तपाईँ इच्छाहरूलाई बढाइरहनुहुनेछ– ‘मलाई यो चाहिएको छ । मलाई यो चाहिएको छ ।’ त्यसपछि बिस्तारै–बिस्तारै तपाईँको आफ्नो संसार निर्माण हुन थाल्छ ।

मेरो भनाइको अर्थ के हो भने, मानिस कुन हदसम्म पुगेर विश्वास गर्न तयार हुन्छ त ! आफ्नो सपनालाई साकार पार्नका लागि ‘म यसो गर्नेछु । यसो गरेँ भने यसो हुनेछ ।’ न त भ्रमित तुल्याउनेहरूको कमी छ, न त भ्रमित हुनेहरूको नै कमी छ । यदि भ्रमित हुनेहरू नै नभएका भए त भ्रमित गराउनेहरूले कसलाई पो भ्रमित बनाउँथे होलान् र !

ती सृष्टिकर्ता तपाईँभित्र बसेका छन् । उनी आनन्दका सागर हुन् । उनी ज्ञानका खानी हुन् । तिनमा स्पष्टता हुन्छ । अनि, त्यो शक्ति तपाईँभित्र छ । उनी साक्षात् छन् । जब तपाईँले उनलाई स्वीकार गर्नुहुन्छ तब तपाईँलाई जुन चीजको आवश्यकता परेको छ त्यो अधुरोपनको अन्त्य हुनसक्छ । यो सोच्नुपर्ने कुरा हो । वास्तवमा हामी जे–जे पढ्छौँ, लेख्छौँ, सिक्छौँ तर हामी के बुझ्छौँ त ! कसैले हामीलाई भन्छन्– ‘यसो गर, त्यसो गर ।’ हामी त्यसै गर्न तयार हुन्छौँ । तर बुझेर गरिरहेका हुन्छौँ या कसैले भनेका कारणले गरिरहेका हुन्छौँ त ?

जुन हृदयमा वास्तविक तिर्खा लागेको छ त्यसलाई बुझ्नका लागि कोही पनि तयार छैनन् । सबै आ–आफ्ना समस्याका पछि लागेका छन् । समस्या त आखिर समस्या नै हो । अनि, यसको समाधान पनि तपाईँभित्रै हुन्छ । यसको हल के हो भने, तपाईँ आफ्नो जीवनमा ती साक्षात् चीजलाई स्वीकार गर्नुहोस् । स्वर्गको अनुभव मरेपछि होइन जीवित हुँदै गर्नुहोस् । किनकि, त्यो स्वर्ग तपाईँभित्र छ । नर्क पनि तपाईँभित्रै छ । नर्कलाई त तपाईँले खोजिसक्नुभएको छ । कसरी आफूले आफैलाई दुःखी तुल्याउने, कसरी आफूले आफूलाई बेचैन बनाउने– यी कुरा त हामीले राम्रैसँग सिकेका छौँ ।

त्यो स्वर्गलाई तपाईँ आफ्नो जीवनमा महसुस गर्न चाहनुहुन्छ कि चाहनुहुन्न ? गर्न चाहनुहुन्छ भने त्यो पनि सम्भव छ, किनभने त्यो तपाईँभित्रै छ । तपाईँभित्र प्रकाश छ भन्ने कुरा सुनेपछि मानिसहरू के सोच्छन् भने, भित्रको प्रकाश दियोको प्रकाशजस्तै होला । तथापि, तपाईँभित्र भएको प्रकाश न त सूर्यको प्रकाश हो, न त चन्द्रमाको प्रकाश हो । त्यो न त आगोको प्रकाश हो ।

त्यो त स्पष्टताको प्रकाश हो । त्यो आनन्दको प्रकाश हो । यदि तपाईँले त्यो प्रकाशलाई चिन्न चाहनुभयो भने म तपाईँलाई मद्दत गर्न सक्छु । फलतः तपाईँले पनि आफ्नो जीवनलाई सफल पार्न सक्नुहोस् । अनि, सफलताबाट प्राप्त हुने वास्तविक आनन्दलाई आफ्नो जीवनमा महसुस गर्न सक्नुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण :डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्