जिल्लाकै नुमना विद्यालयमा छनोट प्रगतिशिल माविको नयाँ भवन निर्माण सम्पन्न



बुद्ध नेपाली, सुनकोशी रामटार,सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउपालिकाकै नमुना विद्यालय प्रगतीशिल माविको अत्याधुनिक सुविधा सहितको नयाँ भवन बनेको छ ।
भुकम्प पछिको पुन निर्माण अन्तर्गत निर्माण भएको २१ कोठे भवन एसियाली विकास बैंक(एडिबि)को ऋण सहयोगमा जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा)ले निर्माण गरेको हो ।

२०७२ सालको विनाशकारी भुकम्पले प्रगतिशिल माध्यमिक विद्यालयका पुराना भवनहरु क्षतिग्रस्त भएपछि पुुनःनिर्माण भएको छ । कन्टेक्ट लुम्बिनी जेभीले निर्माण गरेको भवन कुल ८ करोड ३४ हजार लागतमा निर्माण सम्पन्न भएको प्रगतिशिल माविका प्रधानाध्यापक चक्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

२०७५ साल माघ ३ गते देखि निर्माण सुरु भएको भवन २०७७ साल साउन २ मा निर्माण सम्पन्न गरी सक्नु पर्ने भएपनि सम्झौता मितिमा निर्माण कम्पनीले निर्माणको काम पुरा नगरेपछि ६ महिनाको म्याद थप भएको थियो । थपिएको समय सकिनै लाग्दा निर्माण कम्पनीले भवन निर्माणको काम पुरा गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ ।

सुनकोशी गाउपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले आईतवार एक कार्यक्रमका बिच निर्माण सम्पन्न भवनको उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । भवन उद्घाटन गर्दै गाउपालिका अध्यक्ष दाहालले नमुना विद्यालय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । प्रगतिशिल माविको शैक्षिक सुधारका निम्ती विभिन्न प्रक्रियाहरु अघि बढाईएको उहाँले बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई अनुशासन सिकाउने विद्यालयका शिक्षकहरुकै बिचमा मनमुटाव देखिएको भन्दै शिक्षकहरुको आन्तरिक विवादहरु विद्यार्थी, अभिभावकलाई नदेखाउन आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै सुनकोशी गाउपालिकाका उपाध्यक्ष दिर्वसिङ मुक्तानले शिक्षा क्षेत्रको सुधारका निम्ती गाउपालिकाले शिक्षा निति, कार्यविधि र स्थानिय पाठ्यक्रम निर्माण गरिरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा)का प्रमुख बिष्णु प्रसाद भट्टराई, सुनकोशी गाउपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्