विद्यार्थी अभावमा विशेष शिक्षा बन्द



विनोदसिंह विष्ट, बैतडी ।

 विद्यार्थीको अभाव हुँदा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शंकर संस्कृत मावि मूलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिनुभयो ।

विस २०६१ सालदेखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भहेको हो । अपांगता भएका विद्यार्थीहरूलाई शिक्षा दिनका लागि बिशेष शिक्षा अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।’ –उहाँले भन्नुभयो ।पछिल्लो समयमा कोरोनाका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपांगता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपांगता भएका विद्यार्थीका लागि खोलिएको विशेष शिक्षा बन्द भएको छ ।

अपांगता भएका विद्यार्थीहरूलाई विद्यालय पुग्नका लागि सहज वातावरणसमेत नबनेको जिल्ला अपांग संघका उपाध्यक्ष लक्ष्मी विष्टले बताउनुभयो । अपांगता भएका विद्यार्थीका लागि सरकारले शिक्षामा पहुँच पु¥याउने नीति लिएको भए पनि सो नीतिअनुसार काम हुन नसकेको उनीहरुको गुनासो रहेको छ । अपांगता भएका विद्यार्थीहरूलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्