अन्तर्राष्ट्रिय बद्नामी



व्यक्तिगत लाभमा विवाद भएपछि विभाजन भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बारेमा राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा समेत चासो र चिन्ता व्यक्त गर्ने क्रम बढ्दो अवस्थामा रहेको छ । छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामिला भनेर पन्छन खोजेपनि उसले नेकपा विभाजनलाई अनौपचारिक रुपमा निहालिरहेको छ भने अर्को छिमेकी मुलुक चीनले भने आफ्नो विषेश दूत नै नेपाल पठाएको छ ।

अहिले नेकपा विभाजनलाई रोक्न चीनले गरेको प्रयत्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई खेमामा विभाजित भएको नेकपाका नेताहरुलाई मिलाउने प्रयासमा लागेको भनिएको चिनिया विषेशदूतको टोली नेताहरुलाई भेट गर्ने क्रमलाई तीव्रता दिएको भएपनि यसको सकारात्मक वा नकारात्मक परिणाम भने देखिसकिएको छैन । दुई खेमालाई मिलाउने प्रयत्नमा रहेको चिनिया टोलीले हार भने मानिसकेको देखिंदैन । सैद्धातिक लडाइँभन्दा पनि व्यक्तिगत टकरावले पार्टी विभाजन भएपछि अहिले एकले अर्कालाई दोष दिने क्रमले तीव्रता पाएको बेलामा नै चिनिया विषेशदूतको आगमनपछि दुवै खेमा दुविधाामा परेको देखिन्छ । चिनिया टोलीले मिलन बिन्दु भए–नभएको बारेमा नेताहरुलाई स्पष्ट पार्न आग्रह गरिरहेको भएपनि दुवै खेमाले आलटाले जबाफ दिइरहेकाले टोली केही अलमलमा परेको देखिन्छ । पार्टी विभाजनमा देशी–विदेशी शक्ति सक्रिय रहेको आरोप दुवै पक्षले लगाएपनि को कहांँबाट परिचालित भए भन्ने विषयमा दुवै पक्षले भन्न सकिरहेका छैनन् ।

राजधानीमा प्रधानमन्त्री केपी ओलीविरुद्ध पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल समूहले विशाल प्रदर्शन गरेर प्रधानमन्त्री ओलीलाई दवाव दिने प्रयत्न गरेको देखिन्छ । राजधानीमा निकालिएको विरोध ¥यालीपछि प्रचण्ड–नेपाल समूह उत्साहित भएपनि त्यसको सन्देश भने सकारात्मक देखिदैन । दुई खेमामा विभाजित नेकपा आगामी चुनावमा जाँदा भने सर्वनाक हार हुने देखिन्छ । अहिले एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेपनि त्यसको प्रभाव चुनावमा पर्ने स्पष्ट नै छ । त्यतातिर दुवै खेमाले चिन्ता र चासो लिनुपर्ने हो तर त्यसतर्फ ध्यान दिन नसक्नुलाई दुर्भाग्य नै मान्नुपर्दछ । यसले नेपालको राजनीतिमा दीर्घकालीन असर पर्नेतर्फ नेताहरुले ध्यान दिन नसक्नुले मुलुक नै अस्थिरतातर्फ धकेलिन पुगेको देखिन्छ । आम कार्यकर्ता पार्टी विभाजन भएकोमा खुसी छैनन् ।

यतिबेला निष्ठाको राजनीति गर्ने कार्यकर्ताहरु बिस्तारै पलायन हुने क्रममा रहेका छन् । मुलुकभर राजनीतिबाट अलग भएको घोषणा गर्ने कार्यकर्ताको संख्या तीव्र रुपमा बढेको देखिन्छ । यसले पार्टी विभाजनको पक्षमा कार्यकर्ता छैनन् भन्ने स्पष्ट सन्देश दिदापनि नेताहरुमा सद्बुद्धि आउन नसक्नुलाई दुर्भाग्य नै मान्नुपर्दछ । घर–झगडा गर्ने दम्पतीलाई छरछिमेकले मिलाउने र सम्झाउने अभ्यासजस्तै भएको छ चिनिया मित्रहरुको पछिल्लो प्रयास । यसरी सम्झाउनुपर्ने अवस्थामा पुगेका दम्पतीको कतै प्रतिष्ठा बढ्दैन, बरु समाजमा प्रतिष्ठा गुम्छ । अहिले विश्वसामु नेपालको प्रतिष्ठा गुमेको छ र यसका प्रमुख दोषी प्रधानमन्त्री ओली नै देखिएका छन्, साथमा अन्य नेताको पनि सहायक भूमिका देखिन्छ । दुई खेमाको झगडाले घर (मुलुक) कै बद्नामी भएकोतर्फ ती नेतागणको ध्यान जान जरुरी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्