श्रीमती मारेर १९ दिन गुपचुप



मोतीराम तिमल्सिना, काभ्रे ।

श्रीमती मारेर गुपचुप बसिरहेका श्रीमानलाई प्रहरीले १९ दिन पछि पक्राउ गरेको छ । घटनाको १५ दिन पछि मृतक महिलाको शव स्थानीयले फेला पारी प्रहरीलाई खवर गरेका थिए । घटना जानकारी भएको चार दिनमै निजगढ हुँदै फरार भएका श्रीमान मकवानपुरबाट पक्राउ परे ।

जेठी श्रीमती बेपत्ता भएको केहि वर्षमै २०५९ सालमा विवाह गरेका नुवाकोट जिल्ला साविक ओखरपौवा गाविस वडा नम्वर १ घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका वडा नम्वर २ बस्ने ५३ बर्षिय जीवन नेपालीले ४३ बर्षिया कान्छि श्रीमती सिता नेपालीलाई २०७७ मसिंर २३ गते काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर १ हात्तीडुंगा स्थित खोलाको छेउमा कुटपिट पछि हत्या गरेका थिए ।

उनिहरुका दुई सन्तान छोरी छन् । १४ र १७ बर्षिया दुई छोरी निजगढमै बस्दै आएका छन् । जीवनले महिलालाई पनौती नगरपालिकाबाट घर लैजाने भन्दै च्याम्ब्राङ्गबेशी जाने ट्रकमा राखेर लगेका थिए । सोहि सडक हुँदै बारा पुग्न सहज हुन्छ । बाटोमा समेत कुटपिट गरेका जीवनले सितालाई रातको समयमा खोलाको छेउमा पु¥याए ।

अरुको घरमा किन बास बस्नु ? यहि खोलाको डिलमा बसौ भन्दै जीवनले अन्यत्र जान नदिए पछि त्यहि पुनः कुटपिट गरे । कुटपिटकै क्रममा सितालाई छातिमा लाति र घाँटीमा हातले थिचेर मारिदिए । त्यस अघि पनि पटक पटक जीवनले उनलाई कुटपिट गर्दै आएको प्रारम्भिक बयानमा खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

दुई महिना अघि पनि सितालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि उनी रसुवामा रहेका आफन्तको घरमा बस्दै आएकी थिईन् । डेड महिना अघि उनै जीवन रसुवा पुगेर सितालाई काठमाडौ ल्याउँदै गर्दा पुनः बाटोमा मरणासन्न हुने गरे गरी कुटपिट गरेका थिए । सिताका देवर अथार्त जीवनका भाईले काठमाडौको गोगंबुमा थप कुटपिट हुन नदिए र अलग गराएपछि जीवन बारा गएका थिए भने सिता पनौती स्थित बुद्धीबहादुर पोडेलाई दाई बनाएर उपचार गराई रहेकी थिईन् ।

उनै बुद्धीबहादुर पोडेले उपचार गराएर बहिनी बनाएकी सितालाई घर जाने अब आईन्दा केहि गर्दिन भन्दै लगेर जीवनले मसिंर २३ गते बेथान्चोक १ को हात्तीढुंगामा पु¥याई मारेका थिए । प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार श्रीमती मारेर जीवन निजगढ स्थित घरमा बसिरहेका थिए । यता स्थानीयले सिताको शव फेला पारेर प्रहरीलाई खवर गरेसँगै उनी फरार भए ।

काभ्रेबाट खटिएको प्रहरीले सोहि स्थानमा बारा, पर्सा, मकवानपुर प्रहरीको सहयोगमा जीवनलाई पक्राउ गर्न खोज्दा भागेका थिए । मोवाईल लोकेसनका आधारमा उनलाई चार दिन पछि पौष १३ गते मकवानपुर हेटौडा उप महानगरपालिका वडा न.१० बसपार्कबाट पक्राउ गरेको प्रहरी प्रमुख एसपी पौडेलले बताउनु भयो ।

‘अपराध गरेर भागेका ब्यक्तिलाई केहि दिनमै पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरेका छौै’–एसपी पौडेलले भन्नुभयो–‘काभ्रे प्रहरीले अपराधका अधिकांश घटनाका अपराधीलाई तत्काल पक्राउ गर्न सफल भएको छ ।’ घटना विवरण अनुसार २०७७ पौष ९ गते विहान पौने ११ बजे बेथानचोक गाउँपालिका वडा नम्वर १ हात्तीडुंगा स्थित खोलाको छेउमा नाम थर खुल्न नखुलेको महिलाको शव भेटिएको खवर प्रहरीले प्राप्त ग¥यो ।

प्रहरीले प्रहरी नायव उपरिक्षक गोविन्द अधिकारी, प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, धुलिखेल अस्पतालका फोरेन्सिक डाक्टर राजकुमार कार्की, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना समेतको टोली पुगेको थियो । घटनास्थल तथा लास जाँच मुचुल्का समेतका आधारमा महिलाको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो । सोहि आधारमा अनुसन्धान शुरु गरी महिलाको पहिचान खुलाउने र थप अनुसन्धान शुरु गरेको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो ।

मृतक महिलाको पहिचान खुलेसँगै प्रहरीले मृतक महिला सिताको देवर राजेन्द्र कुमार नेपालीले शवको सनाखत गरी पुष २ गते कर्तब्य ज्यान मुद्धामा जाहेरी दरखास्त दिएका थिए । जीवन नेपाली तथा मृतक श्रीमती पनौती, बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्ने गरेका थिए । आर्थिक कारोबारका सम्बन्धमा पटक पटक जीवनले श्रीमती सितालाई कुटदै आएको स्थानीयले प्रहरीलार्य जानकारी गराएको सूचना अधिकारी एवं प्रहरी नायव निरिक्षक कुमार विक्रम थापाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्