ठोरी केरुङ लोकमार्गका लागि छलफल तीब्र



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको ठोरी देखि केरुङसम्म जोड्ने लोकमार्ग निर्माण अभियानले दुई पक्षीय छलफललाई तीब्रता दिएको छ । नेपाल भारतको सीमा ठोरी र नेपाल चीनको सीमा नाका केरुङ सम्म जोड्ने सामरिक महत्वको ठोरी केरुङ लोकमार्ग निर्माणका लागि भारत तर्फको विहार पश्चिमी चम्पारणका जिल्ला अधिकारीहरुसँग ठोरी केरुङ लोकमार्ग निर्माण अभियानले छलफल गरेको छ ।

गएको बिहीबार पश्चिमी चम्पारणको वेतियामा गएर त्यहाँका जिल्ला परिषद अध्यक्ष शैलेन्द्र गढवाल लगायतका पदाधिकारीहरुसँग छलफल गरिएको अभियानका संयोजक तारा पौडेलले जानकारी दिनुभयो ।विगत १२ बर्षदेखि निरन्तर अभियानमा लाग्नुभएका अभियन्ता पौडेलले ठोरी केरुङ लोकमार्गलाई जोड्न सकिए ठोरी अन्तराष्ट्रिय ट्रान्जिट हब बन्न सक्ने र यसले पर्साको आर्थिक समृद्धिमा टेवा पुग्ने दावी गर्नुभयो ।

नारायणी एफ.एम.को नियमित कार्यक्रम ‘आजको सन्दर्भ’ मा आज बिहान कुराकानी गर्दै अभियन्ता पौडेलले ठोरी केरुङ लोकमार्गले दुईठूला अर्थतन्त्र भएको चीन र भारतको ट्रान्जिट प्वाईण्टको रुपमा जोडिने र यसले नेपालको अर्थतन्त्रमा पनि कायापलट ल्याउने बताउनुभयो ।

वीरगन्ज मुलुकै प्रमुख प्रवेशद्वार रहेको र अझ ठोरी नाकालाई अन्तराष्ट्रिय व्यापारको केन्द्र बनाउन सके पर्साको पश्चिमी भेगमा विकास र समृद्धि छिटो हुने उहाँको विश्वास छ । त्यसको लागि पर्साका सबै सरोकारवाला पक्षहरुले पनि पहल गर्नुपर्ने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्