प्रहरीले पायो २२ वर्षपछि भवन



जाजरकोट, (नेस)

इलाका प्रहरी कार्यालय स्थापना भएको २२ वर्षपछि जाजरकोटका दुई इलाका प्रहरी कार्यालयले आफ्नै भवन पाएका छन् । भेरी नगरपालिका र शिवालय गाउँपालिकामा भवन निर्माण भएपछि इलाका प्रहरी कार्यालयले आफ्नै भवनमा बस्न पाएका हुन् ।

भेरी नगरपालिका–१ रिम्ना र शिवालय गाउँपालिकाको केन्द्र सीमामा रहेको इलाका प्रहरी कार्यालयले २०५६ सालमा तत्कालीन माओवादीले ध्वस्त पारेपछि प्रहरीले स्थानीय नागरिकका घर भाँडामा लिएर बस्दै आएका थिए । भाडाको घरबाट प्रहरीलाई सेवा दिन अप्ठ्यारो परेकाले भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

यूएनओपीएसको आर्थिक सहयोगमा डीएफआई नेपालले भवन निर्माण गरेको थियो । इलाका प्रहरी कार्यालय रिम्नाको भबन निर्माणका लागि ३ करोड ३५ लाख र शिवालय गाउँपालिकाका सीमाको भवन निर्माण गर्दा ३ करोड ३० लाखको लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्