‘खेलाडी प्रतिभा पुरस्कार’बाट खेलाडीहरू पुरस्कृत



नेपाल समाचारपत्र, काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई ‘खेलाडी प्रतिभा पुरस्कार’बाट मंगलबार नगदसहित सम्मान गरेको छ ।७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । सोही अवसरमा २ प्रशिक्षक तथा समान १–१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरियो । २ प्रायोजक पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मानित भए ।

शारीरिक सुगठनका समीर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रुपैया नगदसहित सम्मानित भएका हुन् । समीरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

समान १–१ लाख नगदसहित सम्मानित हुनेमा गोल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन् । १३औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मीबाहेक तीनै खेलाडी १३औं सागका दोहोरो स्वर्ण विजेता हुन् । मण्डेकाजी, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए । प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए ।

दुवै १३ सागमा प्रशिक्षकको भूमिकामा थिए । १३औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । दुवैलाई समान ५०–५० हजार नगद प्रदान गरियो । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गोल्फ संघ सम्मानित भए । तीनैलाई समान १–१ लाख नगद प्रदान गरियो ।

प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई ‘प्रशंसा पत्र’बाट सम्मान गरियो । कतार एयरवेजले ‘शहिद स्मारिक ए डिभिजन फुटबल लिग’ प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगरभित्रका ‘ए डिभिजन’ फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्