चराहरुको स्वर्ग कोशी टप्पु वन्यजन्तु आरक्ष



कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो वि.सं. २०३२ मा स्थापना भएको हो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । सन् १९८७ मा रामसार क्षेत्रका रुपमा सूचीकृत भएको हो । नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चराहरू, २१९ को संख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फिनसमेत पाइन्छ ।

नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मि. रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृतलगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्षवरिपरि रहेका प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकासलगायत आरक्ष संरक्षणमा सहयोग एवं सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन् ।

यहाँ हरेक वर्षझैँ विश्व सिमसार दिवस तथा दशौँ राष्ट्रिय चरा महोत्सव मनाइन्छ । कोशी टप्पु वन्यजन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशीको तटमा अवस्थित छ । यो आरक्ष २०३२ साल (सन् १९७६) मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी) हरूको संरक्षित बासस्थानको रूपमा स्थापना भएको हो । कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो ।

यसको दक्षिणी सीमामा सप्तकोशी नदीको बाँध रहेको छ । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइबेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रशिद्ध मानिन्छ ।

यस कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाइन्छ । गर्मीको मौसम (फागुनदेखि जेठसम्म) मा तीव्रता न्यूनतम वर्षासँगसँगै तीव्र गर्मी हुन्छ । यस बेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेटसम्म पुग्न सक्छ । मनसुन जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्रसम्म लगातार भारी वर्षा रहन्छ । सबैभन्दा भारी वर्षा साउनतिर हुने गर्छ तर त्यस मौसममा उच्च आद्र्र्रता र तापक्रमको अनुभव पनि हुने गर्छ । शिशिर ऋतुमा सफा आकाश र संयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम चिसो हुने गर्दछ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष मुख्यतः घाँसे मैदानले भरिएको छ । साथै यहाँ खयर, साल तथा सिसौलगायतका वनस्पतिहरू पाइन्छन् । मुख्यतः लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी) हरू पाइने यो आरक्षमा अन्य २० प्रकारका साना–ठूला जनावरहरू जस्तै– हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावरहरू पाइन्छन् ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीहरूसहित ४४१ प्रजातिका चराचुरुङ्गीहरू पाइने यस आरक्षमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पक्षीहरू पाइन्छन् । जसमध्य लोसार ठूलो धनेश, स्वाम्प प्याराडाइज, फिसिङ इगल, टफटेड सोभलरडक ब्रेस्टेट, ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरूअन्तर्गत पर्छन् ।

विराटनगरबाट करिब ५० कि.मि. उत्तर–पश्चिम र धरानबाट करिब ४० कि.मि. पश्चिम–दक्षिणमा अवस्थित कोशीको टप्पु कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रशिद्ध छ । सिसौ, खयर र सिमलका रूख र पोथ्रापोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्रबाहेक चराको बासका रूपमा पनि विश्वमै प्रशिद्ध छ । यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन् । अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ । यसैले कोशी टप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ ।

नदीको केही भागसमेत समेटेर १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन् । विश्वमै कहीँ नपाइने स्वाम प्यास्ट्रिज नामक चरा यहाँ पाइन्छ । कात्तिकदेखि फागुन महिनासम्ममा रूस, श्रीलंका, भारत, तिब्बत आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन् ।

केही समय यहाँ बास बसेपछि यी चराहरूले पाकिस्तान, अफगानिस्तान हुँदै अफ्रिका, युरोपतिर वेग हान्ने चरा अध्येताहरू बताउँछन् । कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै कर्‍याङकुरुङ, सारस, पानीहाँस हुलका हुल देख्न पाइन्छ । डल्फिन र घडियाल गोही पनि कोशी टप्पुका आकर्षण हुन् ।

कात्तिकदेखि फागुनसम्म अर्ना र चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा चराहरूको भीडले कोशी टप्पुको रौनक नै अर्कै हुन्छ । अझै हात्ती चढेर आरक्षण र नजिकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो । आरक्षण घुम्न जानेहरूका लागि आसपासका क्षेत्र र सप्तकोशी नदीमाथिको र्‍याफ्टिङसमेत तान्न सक्छ ।

काभ्रे जिल्लाको दोलालघाटबाट भोटेकोशीमा र्‍याफ्टिङ गर्दै बराहक्षेत्र चतरा निस्केर कोशीटप्पु भ्रमण गर्न सकिन्छ । धरानबाट २६ कि.मि. उत्तर मूलघाट गएर र्‍याफ्टिङ गर्दै चतरा भएर कोशी टप्पुसमेत झर्न सकिन्छ । चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने कोशी टप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ ।

विराटनगरबाट करिब ५० कि.मि. उत्तर–पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम–दक्षिणमा अवस्थित कोशी टप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ । पूर्व–पश्चिम राजमार्गको लौकहीनजिकैको जमुनाहबाट दुई कि.मि. उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन । हाल कोशी टप्पु पुग्न इटहरी र इनरुवाबीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ ।

– सोनाली बस्नेत, विराटनगर ।

प्रतिक्रिया दिनुहोस्