रोनाल्डोको सयौं खेलमा युभेन्ट्सको जित



रोम, (एजेन्सी) ।

इटालियन सिरी ए क्लब युभेन्टसका लागि फरवार्ड क्रिस्टियानो रोनाल्डोको एक सयौं खेलमा टिमले सहज जित निकालेको छ ।

सिरी ए लिगअन्तर्र्गत आइतबार राति भएको लिगको ११औं खेलमा युभेन्ट्सले अवे मैदानमा अंकतालिकामा १९औं स्थानको जेनोआविरुद्ध ३–१ को जित निकालेको थियो । उक्त खेल रोनाल्डोका लागि युभेन्ट्सको जर्सीमा सयौं खेल थियो । उनले दुई गोल गर्दै यसलाई विशेषसमेत बनाए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा स्पेनिस बार्सिलोनाविरुद्ध पनि २ गोल पेनाल्टीमार्फत नै गरेका थिए । उनले पछिल्ला २ खेलमा गरेका सबै ४ गोल पेनाल्टीमार्फत नै भएका हुन् ।

जेनोआको घरेलु मैदानमा सुरुआतबाटै आक्रामक खेले पनि युभेन्टसले पहिलो हाफमा गोल गर्न सकेन । पहिलो हाफ गोलरहित टुंगिएको थियो । तर, दोस्रो हाफमा दुवै पक्षबाट गरी ४ गोल भए । खेलको ५७औं मिनेटमा पाओलो डिबालाले डीबक्स भित्रबाट जेनोआका डिफेन्डरका माझबाट कडा सटमा निकै सुन्दर गोल गरेर टिमलाई अग्रता दिलाए । सिरी ए लिगमा उनको लागि यो सिजनकै पहिलो गोल थियो ।

यता गोल बेहोरेको ४ मिनेटमै घरेलु टोलीले बराबरी गोल फर्कायो । फ्री किक बलमा स्टेफानो स्टुराओले लो सटमा गोलपोस्ट नजिकैबाट सजिलै गोल गरेपछि खेल १–१ मा बराबरी भएको थियो । स्टुराओले युभेन्टसका गोलकिपर र डिफेन्डरलाई समेत जिल्ल्याउँदै गोल गरेका थिए । तर, त्यसपछि घरेलु टोलीले लगातार गरेको गल्तीले पाहुना टोलीले २ पेनाल्टी पायो । खेलमा ७८औं मिनेटमा रोनाल्डोले आफ्नो पहिलो गोल पेनाल्टीमार्फत गरे ।

डीबक्समा जुआन काउडराडोमाथि जेनोआका खेलाडीले बक्समा खराब फउल गरेर लडाएपछि रेफ्रीले युभेन्टसलाई पेनाल्टी दिएका थिए । फेरि खेलको ८९औं मिनेटमा युभेन्टसले दोस्रो पेनाल्टी प्राप्त गर्‍यो । यसपटक सब्सिच्युट खेलाडी अल्भारो मोराटालाई जेनोआका गोलकिपरले बल क्लियर गर्नेक्रममा लडाएपछि रेफ्रीले युभेन्टससाई दोस्रो पेनाल्टी दिए ।

दोस्रो पेनाल्टी पनि रोनाल्डोले नै हान्दै गोल गरेपछि खेल युभेन्टसले ३–१ ले जित्यो । यो जितपछि युभेन्ट्सले ११ खेलबाट २३ अंक जोडेको छ । यता पराजित जेनोआको ११ खेलपछि ६ अंकमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्