स्पोट्र्स अवार्ड पुसमा हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली खेलकुदमा राष्ट्रिय पुरस्कार समान रहेको ‘पल्सर स्पोर्टस् अवार्ड २०७६’ कोरोनाको कहरमा पनि आयोजना हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी गराएको हो । यसपटक कार्यक्रम चिसो मौसममा हुन लागेको छ । यसअघि जुलाई २ तारिख गर्ने गरिएको छ । जुलाई २ को दिन विश्व खेलकुद पत्रकार दिवससमेत हो । तर, कोरोनाले गर्दा कार्यक्रम गर्ने वा नगर्ने भन्दै हिजो पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले अवार्ड कार्यक्रम गर्नुपर्ने बताएका हुन् ।

सो खेलकुद अवार्ड कार्यक्रम आगामी महिना पुस २८ गते हुने पनि तय भएको छ । सो कार्यक्रम गर्न सामाजिक दूरी कायम गर्ने पनि जनायो । कार्यक्रम सातदोबाटोस्थित कराते हलमा हुने पनि मञ्चले जनाएको छ । यस्तै, अवार्डलाई विगतजस्तै हंसराज हुलास चन्द एन्ड गोल्छाको पल्सरले मुख्य प्रायोजना गर्नेछ । मञ्चका अध्यक्ष सुवेदी र हंसराज हुलास चन्द एन्ड गोल्छाका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । योसँगै पल्सरले मञ्चका लागि २८ लाख नगदभन्दा बढीको सामग्री उपलब्ध गराउनेछ ।

अघिल्लो वर्षझैं अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा ‘उत्कृष्ट पुरुष खेलाडी’, ‘उत्कृष्ट महिला खेलाडी’, ‘उत्कृष्ट युवा खेलाडी’, ‘उत्कृष्ट प्रशिक्षक‘, ‘उत्कृष्ट पारा खेलाडी’ र ‘वर्षको उत्कृष्ट टिम’ तथा खेलकुदमा पुर्‍याएको विशेष योगदानको कदरस्वरूप ‘स्पेसल अवार्ड’, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, समर्थकको मतका आधारमा दिइने ‘पिपल्स च्वाइस अवार्ड’ र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने ‘इन्टरनेसनल अवार्ड’ गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी दिए ।

गत वर्ष नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा नेपाली खेलाडीले ऐतिहासिक प्रदर्शन गरेका थिए । जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकका साथ २ सय ७ पदक जितेको थियो । नेपालकी जलपरी खेलाडी गौरिका सिंह एक्लैले ४ स्वर्ण, तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २÷२ स्वर्ण पदक जितेका थिए । ‘यू २३ फुटबल’ टोलीले स्वर्ण पदक रक्षा गर्दा केही खेलले पहिलो पटक स्वर्ण पदक जितेको थियो । यसपटक कोरोनाको कारण प्रतियोगिता त्यति नभएको हुँदा अवार्डमा सागकै प्रदर्शनको आधारमा पुरस्कार वितरण गरिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्