बागमती हार्दा राप्ती र नारायणी फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं । 

तीन टिमको मात्रै सहभागिता भएको गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा बागमतीले पराजय व्यहोरेसँगै राप्ती र नारायणी फाइनलमा पुगेका छन् ।

आइतबार चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बागमती राप्तीसँग ११ रनले पराजित भएको हो । यो बागमतीको दोस्रो हार भएपछि आज हुने नारायणी र राप्तीबीचको खेल औपचारिकता मात्रै भएको छ । अघिल्लो दिन नारायणीले बागमतीलाई सुुपरओभरमा पराजित गरेको थियो । बागमतीको लागि प्रतियोगितामा रहन यो खेल जित्नैपर्ने थियो, तर जित हात पार्न सकेन र प्रतियोगिताबाटै बाहिरियो ।

राप्तीले १ सय ३० रनको लक्ष्य दिएकोमा राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको टिम बागमती १ सय १८ रनमै सीमित भएको थियो । टिमका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन जोडे पनि जित दिलाउन सकेनन् । उनले २८ बलको सामना गरी ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

बागमतीका लागि कप्तान मल्ल र सुनील धमला ओपनिङ विकेटमा जम्न नसक्नु नै हार भएको थियो । मल्लले ठूलो सट खेल्ने धुनमा विकेट गुमाएका थिए । १३ रन जोडेका उनले २ छक्का प्रहार गर्न सकेका थिए । त्यस्तै, अर्का ओपनर सुनीलले ११ रन मात्रै जोडेका थिए । त्यसैगरी, अनिल शाह र रोहित पौडेलले पनि टिमका लागि निरस ब्याटिङ गरे । अनिलले २२ रन बनाएका थिए भने रोहित १३ रनमै पभेलियन फर्कनुपरेको थियो । राप्तीको बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया र भुवन कार्कीले समान २/२ विकेट हात पारेका थिए ।

यसअघि, राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । टिमका लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन जोडेका थिए । उनले २ छक्का र २ चौकासमेत प्रहार गरेका थिए । यस्तै, शरद भेषवाकर र कप्तान विनोद भण्डारीले समान २१ रन बनाए । शरदले १ छक्का प्रहार गर्दा विनोदले २ छक्का प्रहार गरेका थिए । यसैगरी, कमलसिंहले १६ र लोकेश बमले १५ रन बनाए । बागमतीको बलिङमा सोमपाल, रसिद खान र सागर ढकालले २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्