वेस्ट ह्यामको संघर्षरत जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई हराउन संघर्ष गर्नुपरेको छ ।

खेल सकिन १० मिनेट बाँकि हुँदा एन्जेलो ओग्बोन्नाले गोल गर्दै वेस्ट ह्यामलाई लिड्समाथि २–१ को जित दिलाएका हुन् । यो नतिजासँगै डेभिड मोएजको टिम वेस्ट ह्यामले १२ खेलबाट २० अंक जोडेको छ । लिड्सको भने त्यति नै खेलबाट १४ अंक रहेको छ ।

यसअघि, खेलको छैटौं मिनेटमै विवादास्पद पेनाल्टी गोलसँगै वेस्ट ह्याम पछि परेको थियो । सो पेनाल्टी दुईपटक प्रहार गर्नुपरेको थियो । पहिलो पेनाल्टी प्रहार गर्दा वेस्ट ह्यामका गोलकिपर लुकाज फाबिएन्स्की गोललाइनबाट कदम चालेको भारको समीक्षाले पुष्टि गरेको थियो । माटेउस्ज क्लिचले दुवैपटक पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । सो गोलसँगै लिड्सले १–० को अग्रता लिएको थियो ।

तर, खेलको २५औं मिनेटमा वेस्ट ह्यामका टोमास सौसेकले हल्का हेडिङ गर्दै गोल गरेर लिड्सको अग्रता खारेज गरेका थिए । योसँगै पहिलो हाफ १–१ बराबरीमा समाप्त भएको थियो । दोस्रो हाफमा पनि दुवै टिमका खेलाडीले मौका गुमाएपछि खेल बराबरीतिर अग्रसर भएको थियो । तर, ८०औं मिनेटमा आरोन क्रेसवेलको फ्रिकिकमा ओग्बोन्नाले सशक्त हेड प्रहार गर्र्दै लिड्सको जाली चुमाइदिएका थिए । यसपछि लिड्सका रोड्रिगोले ६ यार्ड दूरीको प्रहार गोल गर्न नसक्दा वेस्ट ह्यामले सो खेल २–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्