लेवान्डोस्की बेलन डी ओर अवार्डका प्रबल दाबेदार



लन्डन, (एजेन्सी) ।

यसपटकको फिफा बेलन डी ओर अवार्डमा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उपाधि दाबेदारीमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीसँग प्रतिस्पर्धा गर्दै छन् । डिसेम्बर १७ मा हुने अवार्ड कार्यक्रम भर्चुअल हुनेछ, सोही दिन अवार्डको छिनोफानो हुनेछ । यो अवार्ड सेप्टेम्बरमै आयोजना हुनुपर्ने थियो, तर कोरोना भाइरसको कारण स्थगित गरिएको थियो ।

फिफा बेस्ट मेन्स प्लेयर अवार्डका लागि यी तीनमध्ये एकले अवार्ड जित्नेछन् । तर, जर्मन क्लब बायर्न म्युनिखका खेलाडी लेवान्डोस्कीले जित्ने प्रबल सम्भावना छ । उनले २०१९–२० सिजनमा च्याम्पियन्स लिगमा बायर्नलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै, उनले बायर्नलाई जर्मन लिग, जर्मन कप र युएफा सुपर कप पनि दिलाउन पनि सहयोग गरेका थिए ।

लेवान्डोस्कीले बायर्नका लागि २०१९–२० सिजनमा ४७ खेल खेल खेलेका थिए । उनले कुल ५५ गोल गर्नुका साथै १० एसिस्ट पनि गरेका थिए । अर्का दाबेदार युभेन्टसका रोनाल्डोले ४६ खेलबाट ३७ गोल र ७ एसिस्ट गरेका थिए । जबकी बार्सिलोनाका खेलाडी मेसीले उक्त सिजनमा ४४ खेल खेलेर मात्र ३१ गोल गरेका थिए, तर उनीबाट २७ एसिस्ट भएका थिए ।

मेसीले अहिलेसम्म बेलोन डी ओर सर्वाधिक ६ पटक जितेका छन् । पछिल्लो १२ वर्षमा उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा उक्त अवार्ड जितेका हुन् । यस्तै, रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ गरी ५ पटक उक्त अवार्डमाथि धाक जमाएका छन् । २०१८ मा क्रोएसिया र रियल मेड्रिडका खेलाडी लुका मोडरिचले सो अवार्ड जितेका थिए । यदि, लेवान्डोस्कीले जितेमा मेसी र रोनाल्डोको वर्चश्व तोड्ने मोडरिचपछिका दोस्रो खेलाडी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्