अध्यक्ष श्रेष्ठ र साउदी राजदूतबीच भेटघाट



काठमाडौं, (नेस) ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिबार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ ।

एनओसीको सातदोबाटोस्थित कार्यालयमा भएको भेटघाटमा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका लागि पनि कुराकानी भएको थियो । साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि दाबी प्रस्ताव गरेको छ र त्यसमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन् ।

उक्त एसियाली खेलकुद २०३० को आयोजना गर्न रियादसँगै कतारको दोहाबीच प्रतिस्पर्धा हुन लागेको छ । यसअघि, कतारी ओलम्पिक कमिटी टोलीले पनि काठमाडौंका भ्रमण गरेको थियो । राजदूतसँगको कुराकानीपछि अध्यक्ष श्रेष्ठले साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारणसभामा दुवै पक्षसँग थप छलफल हुने बताए ।

श्रेष्ठले अन्तिम निर्णय अगाडि नेपाली खेलकुद र खेलाडीलाई हित र स्वार्थलाई मुख्य आधार बनाइने बताएका थिए । अध्यक्ष श्रेष्ठसँगै महासचिव नीलेन्द्र श्रेष्ठले मस्कटमा हुने साधारणसभामा भाग लिनेछन् । त्यस अवसरमा नेपाली टोलीले साउदी र कतारी ओलम्पिक कमिटीसँग थप भेटघाट गर्नेछ । राजदूत आरवेसँगको छलफलको अवसरमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य र महासचिव नीलेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्