गौतमबुद्ध कपमा नारायणीको विजयी शुरूवात



नेपाल समाचारपत्र, काठमाडौं ।

नारायणी टिमले शनिबारबाट शुरू भएको गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगितामा विजयी शुरूवात गरेको छ ।

प्रतियोगिताको सो उद्घाटन खेलमा नारायणीले वागमती टिमलाई सुपर ओभरमा पराजित गर्दै जित हात पारेको हो । सुपर ओभरमा नारायणीले २६ रनको लक्ष्य दिएकोमा वागमती केवल २० रनमै खुम्चिनुपरेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले २५ रनको योगफल बनायो, जसमा करण केसीले लगातार ३ छक्का प्रहार गरेका थिए ।

करणले सोमपाल कामीको बलिङमा पहिलो तीन बललाई बाउन्ड्री पार गराएका थिए । सोमपालले त्यसपछि दुई बलमा रन दिएनन् । अन्तिम बल वाइड गएपछि थप अर्को बल उनले बलिङ गरे । यसमा पनि करणले छक्का प्रहार गरेका थिए । करणले कुल २४ रन बनाए भने अर्को इन्डका ब्याटसम्यान आरिफ शेखलाई ब्याटिङको कुनै मौका भएन ।

२६ रनको लक्ष्यका साथ मैदानमा उत्रेका वागमतीका ब्याटसम्यान ज्ञानेन्द्र मल्लले आक्रामक ब्याटिङ गरे । कप्तान ज्ञानेन्द्रले करणको पहिलो बललाई छक्का प्रहार गरेका थिए । दोस्रो बल वाइड भएपछि वागमतीले पनि थप एक बल खेल्न पाएको थियो । मल्लले अर्को बलमा छक्का प्रहार गरे भने तेस्रो बल डट भएको थियो ।

त्यसपछि चौथो बललाई ज्ञानेन्द्रले बाउन्ड्री कटाएर ६ रन जोडे भने पाँचौं बल डट भयो । वागमतीले बचेको अन्तिम बलमा जितका लागि छक्का नै हान्नुपर्ने दबाब भयो । तर, ज्ञानेन्द्रले एक रन मात्रै लिएपछि वागमतीले मात्र २० रनमै चित्त बुझाउँदै हारको सामना गर्नुपरेको थियो ।

यसअघि, निर्धारित २० ओभरमा वागमतीले १ सय १८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नारायणीले १ सय १७ रन बनाएपछि स्कोर टाइड भएको थियो । सोको छिनोफानो गर्न सुपरओभरमा खेल पुगेको थियो । नारायणीका लागि आरिफ शेखले ४ छक्का र १ चौकाको सहयोगमा सर्वाधिक ४४ रनको योगदान दिए । अन्यले भने खासै उल्लेखनीय ब्याटिङ गर्न सकेनन् । वागमतीको बलिङमा सोमपाल, सागर ढकाल, विक्रम सोब र पवन शर्राफले एक–एक विकेट लिएका थिए ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदानमा पहिले ब्याटिङ गरेको वागमतीका लागि सुनील धमला र विक्रमले समान ३७ रन जोडेका थिए । त्यस्तै, रसिद खानले २७ रन बनाएका थिए । विक्रम र रासिदले आठौं विकेटका लागि ५९ रनको साझेदारी गर्दा नै वागमतीले १ सय रनको योगफल कटाएको थियो ।

जबकि, यसअघि टिम ११.७ ओभरमा ७ विकेट गुमाएर ५० रनमा थियो । उनीहरूले ५ छक्का र ३ चौका प्रहार गरेका थिए । नारायणीका बलरमा शाहव आलमले ३ र दीपेश श्रेष्ठले २ विकेट लिए भने किशोर महतो, सुसन भारी र करणको हातमा एक–एक विकेट परेको थियो । किशोरले भने ज्ञानेन्द्रलाई व्यक्तिगत ५ रनमै पभेलियन फर्काएर एक मात्र भए पनि महत्वपूर्ण विकेट हात पारेका थिए ।

कोभिड–१९ दौरान वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा पहिलोपटक क्रिकेट प्रतियोगिता शुरू भएको छ । प्रतियोगितामा तीन टिम वागमती, नारायणी र राप्तीको सहभागिता रहेका छन् । सो प्रतियोगितामा पारस खड्काले भने खेल्न पाएनन् । उनलाई कोरोना संक्रमण भएपछि उनको स्थानमा नारायणीको कप्तानीको भूमिका सुवास खकुरेलले गरेका हुन् । राप्तीको कप्तानी भने विनोद भण्डारीले गरेका छन् ।

प्रतियोगिताको दोस्रो खेलमा आज वाग्मतीले राप्ती टिमसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । वागमतीको लागि प्रतियोगितामा रहिरहन सो खेल जित्नै पर्ने दबाब छ । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मंसिर ३० गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्