रोजगारी सुनिश्चित गर



मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि दशक बितिसकेको छ । राजतन्त्र फ्याँकेर जनताले आफ्नै शासन व्यवस्था ल्याउने बताउँदै लामो संर्घषपछि मुलुकमा गणतन्त्र स्थापना त भयो तर गणतन्त्र संस्थागत नहुँदै अहिले सडकमा गणतन्त्रविरुद्ध नारा लाग्न थालेको छ ।

शासकहरुको कुशल व्यवस्थापन हुन नसक्दा अहिले जनता विकल्प खोज्न थालेका छन् । जनताको चाहना समृद्ध नेपाल थियो तर आज शासकहरु समृद्ध नेपाललाई भाषणमा उतारे पनि व्यवहारमा भने लागू गर्न सकेको देखिँदैन । दल–दलबीचको व्यक्तिगत स्वार्थले अहिले विकास निर्माणका काम ओझेलमा पर्दै गएका छन् ।

सत्तामा बस्नेलाई चौतर्फीरूपमा घेराबन्दीमा पार्ने काम विगतदेखि नै हुँदै आएकोमा अहिले त्यसले निरन्तरता पाएको छ । झण्डै दुई तिहाइ बहुमतको सरकारको विकल्प अहिले सत्तारूढ दलबाटै शुरु भएको छ । मुलुकमा रोजगारी सिर्जना गर्न सकिएको छैन । लाखौं युवा बेरोजगार भएर रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् ।

सरकारले विदेशमा नेपाली युवा–युवतीहरू अलपत्र परेपछि विदेश जानेलाई पनि कडाइ गर्न थालेपछि मानव तस्करहरुले भिजिट भिसामा नेपालीलाई खाडीलगायतका मुलुकमा पठाउने र त्यहाँ अलपत्र पार्ने क्रम पनि बढेको छ ।

अहिले विदेशमा रहेका नेपाली दूतावासहरुले भिजिट भिसामा विभिन्न मुलुक प्रवेश गर्नेहरु कामको खोजीमा लाग्ने र त्यहाँ नै अलपत्र पर्न थालेकाले भिजिट भिसाबाट नेपालबाहिर जानेलाई कडाइ गर्न निर्देशन दिएपछि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन ८४ जना नेपाली फिर्ता भएका छन् ।

उनीहरुले विमानस्थलमा नै ‘कि देशमा रोजगारी दे कि विदेश जान दे’ भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेपछि उनीहरु कामको खोजीमा विदेश जान लागेको तथ्य प्रमाणित भएको हो ।

मुलुकभित्र नयाँ रोजगारी सिर्जना गरेर विदेश पलायन हुने युवाशक्तिलाई रोक्नुपर्नेमा त्यस्तो हुन सकेको देखिँदैन । सरकारले नारा राम्रो ल्याउने तर काम भने केही नगर्ने प्रवृत्ति हावी हुँदै गएको देखिन्छ । यसले मुलुकमा नयाँ रोजगारी सिर्जना हुने अवस्था भने देखिँदैन । जसका कारण आज हजारौं युवा खाडी मुलुकमा श्रम गर्न बाध्य भएका छन् । वर्षेनी हजारौंको संख्यामा विदेश जानेहरु बाकसमा प्याक भएर आउने कहालीलाग्दो अवस्था रहेको छ ।

एकातिर गणतन्त्रविरुद्ध चर्का नारा सडकमा लाग्न थालेका छन् भने अर्कोतर्फ कामको खोजीका लागि बिदेसिन खोज्नेहरुलाई राज्यले अवैध बिल्ला भिराएर फर्काउन थालेको छ । राज्यको दोहोरो चरित्रले जनताले दुःख पाउँदै आएका छन् । राज्यको दायित्व भनेको मुलुकमा रोजगारी सिर्जना गरेर जनतालाई स्वदेशमा नै स्वरोजगार बनाउनु हो । मुलुकमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न नसक्ने हो भने विदेशमा रोजगारीमा जानेहरुको व्यवस्थालाई सुनिश्चित गर्न सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्