दाप्चा मावीलाई ७ करोड ४३ लाखमा २१ कोठे विद्यालय भवन



मोतीराम तिमल्सिना, काभ्रे ।

विद्यालय स्थापनाको ९१ वर्ष पछि जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ८ डराउनेपोखरीमा रहेको दाप्चा मावीले नयाँ भवन पाएको छ । एशियाली विकास बैक र नेपाल सरकारको आर्थिक सहयोगमा दुई वटा २१ कोठे पक्कि विद्यालय भवन निमार्ण भएको छ । निर्माण सम्पन्न भवनहरु विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

‘पुर्वी क्षेत्रको नाका रहेको दाप्चा विपी राजमार्ग निर्माणसँगै ओझेलमा परेको छ, यसको विकास र समृद्धका लागि निरन्तर प्रयास भईरहेको छ’–प्रदेश सभा सदस्य चन्द्र लामाले बताउनु भयो–‘दाप्चा क्षेत्रको विकासका लागि पक्कि सडक, पुल, विद्यालयको पुनर्निमाणसँगै अन्य पूर्वाधार निर्माणका कार्य भएका छन् ।’ दाप्चा माध्यमिक विद्यालयलाई गुणस्रतीय शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणसँगै अन्य ब्यवस्थापनका लागि बागमती प्रदेश सरकार र सरोकारवाला निकायबाट पहल गर्ने प्रदेश सभा सदस्य चन्द्र लामाको प्रतिवद्धता थियो । ‘एक विद्यालय एक नर्स कार्यक्रम तथा पुस्तकालय, ल्याव लगायतका संरचना निर्माणमा अबको ध्यान केन्द्रित हुनेछ’–प्रदेश सभा सदस्य चन्द्र लामाले भन्नुभयो–‘पूर्वाधार अनुसारको गुणस्तरका लागि विद्यालयले पहलकदमी लिनु पर्छ ।’

विद्यालयका प्रधानाध्यापक दिनेश अधिकारीले विद्यालयमा दरवन्दी अभाव भएकाले निमावी र प्रावि तहमा कार्यरत शिक्षकहरुले मावि तह संचालन गर्नु परेको बताउनु भयो । दाप्चा भेगकै पुरानो विद्यालय भएकाले यसको गरिमासँगै नमुना विद्यालय निर्माण गर्ने गरी शुरु भएको गुरु योजनामा सहयोग पु¥याउन प्रधानाध्यापक अधिकारीले प्रदेश सरकार र नगरपालिकालाई अनुरोध गर्नु भयो । विद्यालयका तमाम समस्याहरु प्रस्तुत गर्दै अधिकारीले तत्काल दरवन्दीको ब्यवस्थापन गरी विद्यालयलको शिक्षामा गुणस्तर कायम गर्न सहयोग पु¥याउन नगरपालिकालाई अनुरोध गर्नु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले विद्यालयलाई प्राविधिक शिक्षा तर्फ अगाडी बढाउने गरी योजना बनाउन अनुरोध गर्नु भयो । नर्सिङ्ग विषय अध्ययनका लागि तयारी गर्न र प्राविधिक ज्ञान उपलब्ध गराई दक्ष जनशक्ति उत्पादन गर्नु पर्नेमा नगर प्रमुखले जोड दिनु भयो । ७ करोड ४३ लाख रुपैयामा निर्माण सम्पन्न भवनमा २१ वटा कोठाका अलावा दुईवटा अपाङ्गमैत्री र बालमैत्री शौचालय निर्माण भएका छन् । विद्यालयको कम्पाउण्ड सहित विद्यार्थीहरुका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण भएका छन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, पुनर्निर्माण प्राधिकरण शिक्षा समन्वय इकाईका प्रमुख देवकुमार बराल, वडाअध्यक्ष शेर बहादुर तामाङ, नेपाल पत्रकार महासघंका अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल लगायतले विद्यालय शिक्षाका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रम विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष दिल बहादुर श्रेष्ठको सभापतित्वमा र शिक्षक किशोर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । सोहि अवसरमा विद्यालय निर्माणमा सहयोग गर्नेहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । भवन निर्माण हुनु अघि बालबालिकाहरु पाटीमा बसेर अध्ययन गरिरहेका थिए । पुननिर्माणका लागि प्राथमिकतामा नपरे पछि पटक पटक संचारमाध्यममा उक्त विद्यालयका बारेमा समाचार प्रकाशन हुँदै आएको थियो । भुकम्प गएको पाँच वर्ष पछि उक्त विद्यालयमा पक्कि भवन निर्माण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्