राजतन्त्र पुर्नवहालीको माग गर्दै देउवाको गृहजिल्लामा प्रर्दशन



????????????????????????????????????

राम धामी, डडेल्धुरा ।

नेपाललाई राजतन्त्रसहित हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागराख्दै डडेल्धुरा सदरमुकाममा चर्का नाराबाजीसहित मोटरसाईकल र्‍याली प्रर्दशन गरिएको छ ।

बुधबार राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले डडेल्धुरा सदरमुकाममा र्‍यालीसहित प्रदशन गरेको हो । सदरमुकामस्थित बसपार्क, तुफानडाँडा, किर्तिपुर, पोखरा बजार र टुडिँखेल हुँदै गणतन्त्र बिरोधी चर्का नारावाजीकासाथ नगर परिक्रमा गरेको र्‍याली पुनः बसपार्कमा फर्केर कोणसभामा परिणत भएको थियो ।

‘मेची काली हल्ला छ राजा ल्याउने सल्लाह छ’, ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र नेपाल जिन्दावाद’ ‘गणतन्त्र मुर्दावाद’भन्दै संवैधानिक राजतन्त्र पुर्नबाहालीको माग गरेर प्रर्दशन गरिएको हो । युवाहरूले नेपालको झण्डा लिएर मोटर साइकल तथा गाडीमा राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । र्‍यालीका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानले र्‍याली पछ्याएको थियो ।

पछिल्लो समयमा नेताहरूको काम कारबाही प्रति स्थानीय जनताहरूको वितृष्णा बढ्दै गएकोले राजतन्त्र पुर्नबहालीको मागगर्दै प्रर्दशन गरिएको राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराका कार्यक्रम संयोजक निरज जोशीले बताए । कार्यक्रम संयोजक जोशीले कोरोना महामारीको सङ्क्रमणको जोखिमलाई मध्येनजरगर्दै र्‍यालीमा सहभागीहरुलाई मास्क र स्यानेटाइजरको प्रयोग गरेर स्वास्थ्य सजगता अपनाउदै र्‍याली प्रदर्शन गरिएको जानकारी दिए ।

र्‍यालीमा नेकपा, काँग्रेस लगायतका राजनीतिक दलका नेता कायकर्ताहरूको समेत सहभागिता रहेको थियो । डडेल्धुरा जिल्ला पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । र्‍यालीमा सहभागीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्रियता कमजोर हुँदै गएको र भ्रष्टाचार मौलाएको हुँदा मुलुकको अश्तित्व संरक्षणका लागि हिन्दु राष्ट्रसहित राजतन्त्र पुर्नस्थापना हुनुपर्ने औंल्याएका छन् ।

राजावादीहरुले देशव्यापी रुपमा बिरोध प्रदर्शन गरेर हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन दबाब दिईरहेका बेला डडेल्धुरा जिल्लामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आन्दोलन गरेका प्रमुख राजनीतिक दलले भने कुनै पनि कसिमका राजनीतिक कार्यक्रमहरु आयोजनागर्न सकेका छैनन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्र आन्तरिक गुटबन्दी मौलाइरहेका बेला राजवादीहरु सल्बलाउन थालेको स्थानीय बासिन्दाहरु बताउछन् ।

आयोजक राष्ट्रवादी युवा संगठन तथा राष्ट्रवादी नागरिक समाज डडेल्धुराले मोटरसाईकल र्‍यालीमा सहभागी युवाहरुलाई पेट्रोल र नास्ता खर्च उपलब्ध गराईएको दाबी गरे पनि आयोजक संस्थाहरुले लाखौं रकम खर्च गरेर मोटरसाईकल र्‍याली प्रर्दशन गरेको स्थानीय प्रशासनले जिकिर गरेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले र्‍याली आयोजनामा भइरहेको आर्थिक श्रोत र र्‍यालीमा संलग्न ब्यक्तिहरुका बारेमा सुक्ष्म ढङ्गले अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्