अतिक्रमित सार्वजनिक जमिन खाली गर्न १५ दिने अल्टिमेटम



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको कुस्मा नगरपालिकाले सार्वजनिक जग्गामा बसोबास गर्नेहरुलाई उक्त जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

कुस्माबजार नगरपालिकाको वडा नं ५ बड्गाउँमा सार्वजनिक जमिनमा बनेका घर टहरा हटाउन नगरपालिकाले १५ दिने अल्टिमेटम दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जारी गरेको सार्वजनिक सुचनामा १५ दिन भित्र कुश्मा नगरपालिका वडा न ५ बडागाउँमा रहेका सार्वजनिक जग्गामा बनेका घर टहरा हटाई खाली गराउन भनिएको छ । नगरपालिकाकै नाउँमा रहेका सार्वजनिक जग्गा र अन्य सरकारी जग्गाहरुमा समेत अतिक्रमण गरी कतिपय स्थानहरुमा घर टहरा सदरमुकाम कुश्माबजारमा निर्माण भइरहेका छन् ।

नगरपालिकाले ति क्षेत्रका घर टहरा हटाउनका लागि १५ दिनको म्याद दिएर सुचना जारी गरेको छ । नगरपालिकाले बडागाउँमा रहेका सार्वजनिक जग्गामा बसोबास गरी आएका घर टहराहरु हटाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व अनुरुप अतिक्रमित जग्गाको संरक्षण गर्नका लागि सुचना प्रकाशन गरेको जनाएको छ । नगरपालिकाले अतिक्रमण मुक्त बनाउनका लागि जग्गाको एकलौटी हकदावी लाग्ने भए सोको प्रमाण ७ दिन भित्र पेश गर्न समेत आब्हान गरेको छ ।

सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र घर टहरा खाली नगरेमा कानून बमोजीम कारबाही गरिने सुचनामा जनाइएको छ । नगरपालिकाकै नाउँमा रहेको जग्गामा समेत कुश्मा नगरपालिका वडा न ५ मा घर टहराहरु निर्माण भएका छन् । सामुदायिक, बिभिन्न क्लब, संस्था र ब्यक्तिले समेत सार्वजनिक जमिनमा घर र संरचना बनाएका छन । । उक्त जमिन खाली गराउन पटक पटक पहल गरेपनि सफलता हात पर्न सकेको थिएन ।

उता, नगरपालिका भने अझै पनि भाडाको घरमा बस्दै आएको छ । नगरपालिकाले अहिलेसम्म पनि भवन निर्माण प्रक्रिया शुरुवात गरेको छैन । झण्डै ३ रोपनीको क्षेत्रफलमा साविक शिवालय गाविस र हालको कुश्मा नगरपालिकाको नाउँमा कुश्मा नगरपालिका वडा न ५ वडागाउँमा जग्गा रहेको छ । बडागाउँ क्षेत्रमा नगरपालिका बाहेक पर्वत अस्पताल र जिल्ला खेलकुद विकास समितिको नाउँमा समेत सार्वजनिक जग्गाहरु रहेका छन् । ती जग्गाहरुमा भने करार सम्झौता गरी खेलकुद विकास समिति र अस्पतालले जग्गा भाडामा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्