कस्याँ टाकुँरोबाट सुर्योदय दृष्यावलोकन गर्नेको संख्या बढ्दै



राम धामी, डडेल्धुरा ।

भौतिक पुर्वाधार विकास भईरहेको डडेल्धुरा सदरमुकाम नजिकै रहेको कस्याँ टाकुँरोबाट सुर्याेदयको दृष्यावलोकन गर्नेको संख्या दिनहुँ बढ्दै गएको छ ।

डडेल्धुरा सदरमुकामदेखि ११ किलोमिटर दुरीमा रहेको कस्याँ टाकुँरोबाट सुर्याेदय र सुर्यास्तको दृष्य रमरणीय देखिने भएकाले अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको हो । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालदेखि १५ मिनेट पैदल उकालो चढ्दा कस्याँ टाकुँरोमा पुगिन्छ । सुर्याेदय र सुर्यास्तको दृष्यावलोकन गर्नेहरु अचेल कस्याँ टाकुँरो पुग्ने गरेका छन ।

अमरगढी नगरपालिका–७ पोखरा बजारमाथि मनमोहक कस्याँ टाँकुरो अवस्थित छ । यसको उचाई समुद्र सतहदेखि १९ सय २५ मिटर छ । कस्याँ टाँकुरोबाट सुर्योदयका साथै प्राकृतिक रुपमै डडेल्धुराको आधा बढी भु भागसंगै डोटी, अछाम, बैतडी र भारतको उत्तराखण्डको दृष्यावलोकन गर्न सकिन्छ ।

बिहान सुर्याेदय र बेलुकी सुर्यास्तको दृष्य मनमोहक हुने भएकाले पछिल्ला दिनहरुमा अवलोकनकर्ताको संख्या बृद्धि हुदैं गएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनु भयो । आचार्य हाल नियमित सुर्योदयको अवलोकन गर्न कस्याँ टाँकुरो पुग्ने गरेको बताउनुहुन्छ । उँहा कस्याँ टाँकुरोलाई इलामको अन्तु डाँडा र भक्तपुरको नगरकोटसँग तुलना गर्नुहुन्छ । ‘सूर्योदय र सूर्यास्त हेर्नको लागि पैसा खर्च गरेर इलाम र भक्तपुर पुग्नुभन्दा कस्याँ टाँकुरो पुग्न सुदूरपश्चिमवासीलाई सुझाव दिन चाहन्छु ।’ उँहाले भन्नुभयो ।

कस्याँ टाँकुरो पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले चालु आर्थिक बर्षमा ७२ लाखको बोलपत्र आह्वान गरी भौतिक पुर्वाधार निर्माण कार्य सुरु गरिएको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनु भयो । उँहाले कस्याँ टाँकुरोलाई जिल्लाकै महत्वपुर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न अमरगढी नगरपालिकाले दिर्घकालिन योजना बनाएर बर्षेनी लगानी गर्ने बताउनु भयो ।

दशरथ चन्द राजमार्गको पश्चिममा सडकसँगै जोडिएर रहेको कस्याँ टाँकुरो धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल हो । डडेल्धुरा जिल्लाका सबैभन्दा अग्लो डाँडामध्येको यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक डाँडाको रूपमा मानिन्छ । कस्याँ टाँकुरो डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार रहेको स्थानीय शोवम् भण्डारी बताउनु हुन्छ । ‘कासाको थाल जस्तो भएकोले यसको नाम कस्याँ टाँकुरो राखिएको हो । पहिले यहाँ राजाको भब्य दरबार, हातहतियार राख्ने ठाउँ, पानी खाने नौलो र बस्ने घर समेत थियो,’ उँहाले भन्नुभयो,‘तलबाट अपरिचित व्यक्ति कस्याँ टाँकुरो चढन गएमा माथिबाट ढुंगामुढा हानेर धपाउने कार्य हुन्थ्यो ।’

नवदुर्गा गाउँपालिका–४ का खुनी गाउँ बस्ने केशे विष्टले राजाका भारदारसंँग झगडा गर्दा शाहीका भारदारहरूले हत्या गरेको ठाउँ भएकाले यसलाई पछि कस्याँ टाँकुरो नामकरण गरिएको स्थानीय इतिहासविद् भोजराज भट्टराईले बताउनु भयो । उँहाले कस्याँ टाँकुरोमा २०/२५ वर्षअघिसम्म ढुङ्गाको मन्दिर रहेको खाना पकाउने केही भाँडाकुँडासमेत रहेको बताउनु भयो । उँहाका अनुसार १३ सताब्दीका चर्चित डोटेली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, शिद्धागात, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्याँ टाँकुरोलाई लिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्