आइतबारदेखि सिन्धुलीमै पीसीआर परीक्षण



नेपाल समाचारपत्र, सिन्धुली
आइतबारदेखि सिन्धुलीमै कोभिड–१९ को पीसीआर परीक्षण हुन थालेको छ । बाग्मती प्रदेश सरकारको करिब १ करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपियाँ बराबरको लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुलीमै पीसीआर परीक्षण हुन थालको हो ।

कमलामाई नगरपालिका–६ शिवनगरमा पीसीआर मेसिन जडान गरी पीसीआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित ३ जनाको प्राविधिक टोलीले पीसीआर मेसिन जडान गरेर नमुना परीक्षण गरेका थिए ।

प्रयोगशालामा २० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिनुभयो । कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको समेत व्यवस्था गरिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको प्राविधिक टोलिले ल्याबमा कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई कोरोना परीक्षणबारे तालिम दिने र दक्ष बनाउनेछन् ।

यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौंडा, धुलिखेल वा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । जिल्लामै पीसीआर मेसिन भएपछि अब पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।

कमलामाई नगरपालिका–६ शिवनगरमा जनस्तरबाट नवनिर्मित ५० बेडको कोभिड–१९ अस्पताल, सिन्धुली अस्पताल मातहत सञ्चालनमा आइसकेको छ । यो अस्पतालमा ३ बेडको आईसीयू र २ बेडको भेन्टिलेटर पनि छिट्टै जडान हुने जनाइएको छ ।

आईसीयू र भेन्टिलेटर जडानमा आवश्यक सबै सामान आइसकेकाले एक साताभित्रै भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउने सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले बताउनुभयो । कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि थालिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्