हाते ट्याक्टरमा किसानको आकर्षण



नेपाल माचारपत्र, डोटी

डोटी जिल्लामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसान पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्नेलगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् । काम पनि चाँडो हुने तथा श्रम पनि कम खर्च हुने भएकाले किसानहरु उक्त यन्त्रप्रति बढी आकर्षित भएका हुन् ।

गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले किसान आधुनिक कृषि यन्त्रप्रति दिन प्रतिदिन आकर्षित हुँदै गएको केही साय यतादेखि हाते ट्याक्टरले खेत जोत्दै आउनुभएकी दिपायल पिपल्लाकी देवकी कठायत खड्काले बताउनुभयो । ‘महिलाले पनि सजिलै जोत्न सक्ने भएकाले पनि हाते ट्याक्टरको माग बढ्दै गएको हो’, उहाँले भन्नुभयो– ‘पछिल्लो समय मैले पनि हाते ट्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।’

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्याक्टरले एक÷दुई घण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत हुँदा किसानहरु हाते ट्याक्टरप्रति आकर्षण हुँदै गएको पाइएको दिपायल सिलगढी नगरपालिका–३ बाँफी गाउँका किसान हिक्मतबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गोरु नलाग्ने ठाउँमा समेत हाते ट्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटो छरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्याक्टर ।’

पछिल्लो समय जिल्लामा हाते ट्याक्टर तथा थ्रेसर मेसिन खरिद गर्नेको सङ्ख्या अधिक हुँदै गएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । निर्देशनालयले विगतदेखि नै कृषिका आधुनिक उपकरणमा अनुदान दिँदै आएको र जिल्लामा कम्तीमा पनि १ सयभन्दा बढी किसानले अनुदानमा विभिन्न कृषि यन्त्र पाएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्