तिनाउ र दानव नदीको दायाँ–बायाँ करिडोर



बुटवल, (नेस)
तिनाउ र दानव नदीको दायाँ–बायाँ दुई लेनको सडक निर्माण हुने भएको छ । पर्यापर्यटनको विकासका लागि करिडोर निर्माण शुरु गरिएको हो ।
पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किलोमिटर सडक निर्माण गरिने, यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले बताउनुभयो ।
तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपियाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपियाँको ठेक्का छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदीकिनारमा ३ वर्षमा र दानव नदीकिनारमा २ वर्ष ३ महिनामा सक्ने सम्झौता छ । सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेबी र लामा बानियाँ जेबीले सर्भेको काम थालेको प्रवक्ता कुँवरले बताउनुभयो ।
ठेक्का भएको तिनाउपट्टि बुटवल उपमहानगर बसपार्कपछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टि बेलवासको झोलुंगे पुलदेखि नयाँगाउँको पुलसम्म सर्भे शुरु भएको छ । सर्भेलगत्तै करिडोर निर्माणको काम शुरु हुनेछ ।
करिडोर निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपियाँ लाग्ने देखाएको प्रवक्ता कुँवरको कथन छ ।
उहाँका अनुसार पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७–७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्