सुदूरपश्चिममा जातीय छुवाछुतका घटना मौलाउँदै



विमल विष्ट, डोटी

सुदूरपश्चिम प्रदेशमा जातीय छुवाछुत तथा विभेदसम्बन्धी घटना बढ्न थालेको पाइएको छ । पछिल्लो केही महिनायता मात्रै यो प्रदेशमा नौवटा छुवाछुत तथा विभेदसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म कैलालीमा पाँच, अछाममा दुई, कञ्चनपुरमा एक र बझाङमा एकवटा जातीय छुवाछुत तथा विभेदसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

जातपातका आधारमा अपशब्द प्रयोग गर्दै कुटपिट तथा सार्वजनिक स्थानमा जान रोक लगाएको सामाजिक सञ्जालमा जाति विशेषलाई होच्याउने खालका शब्दहरु प्रयोग गरेको भन्दै मुद्दा दर्ता भएको निमित्त प्रदेश प्रहरी प्रमुख तथा एसएसपी मुकेशकुमार सिंहले बताउनुभयो ।

जातीय छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन–२०६८ जारी भइसकेपछि हालसम्म सुदूरपश्चिम प्रदेशमा उक्त ऐनअनुसार ३८ मुद्दा दर्ता भएको निमित्त प्रदेश प्रहरी प्रमुख तथा एसएसपी सिंहले जानकारी दिनुभयो, जसअनुसार कैलालीमा १६, कञ्चनपुरमा १३, अछाममा चार, बझाङमा दुई र डोटी, डडेल्धुरा र बाजुरामा एक–एक जाहेरी परेका छन् ।

बैतडी र दार्चुलामा भने जातीय छुवाछुत तथा भेदभावसम्बन्धी कुनै जाहेरी नपरेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

‘कानुन छ तर कार्यान्वयन नभएका कारण समाजमा जातीय छुवाछुत कायमै छ, दण्डहीनताको अन्त्य नहुन्जेल यो समस्या हट्ने छाँटकाँट देखिँदैन ।’ –डोटीका दलित अधिकारकर्मी अधिकारज बिसीकोे धारणा छ । यतिमात्र नभई सुदूरपश्चिम प्रदेशमा दलित समुदायभित्र पनि आपसी विभेद हुने गरेका कारण यहाँ जातीय छुवाछुत अन्त्य हुन नसकेको स्थानीयबासी तथा कांग्रेस नेता विजय खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्