साख्वा र तुलाधरको मूर्तिमा अनावरण



नेपाल समाचारपत्र, काठमाडौं
शंखधर साख्वा र पद्मरत्न तुलाधरको मूर्ति रत्नपार्कको ‘शंखधर उद्यान’मा शनिबार अनावरण भएको छ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरूपमा सालिकको अनावरण गर्नुभएको होे ।
करिब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएको ती दुई सालिकको अनावरणपछि सम्बोधन गर्दै मन्त्री श्रेष्ठले साख्वा र शाक्य दुवै इतिहास पुरुष भएकाले उहाँहरूको सम्मानमा महानगरपालिकाले सालिक निर्माण गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका बेला विभूति घोषणा गरेको भन्दै उहाँको पनि स्मरण गर्नुभयो । ‘वामपन्थी आन्दोलका अगुवा तुलाधर र प्रजातान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहका बीचमा शंखधरको सालिक निर्माण हुनु इतिहासको सम्मान हो ।’ –उहाँले भन्नुभयो । त्यसै गरी नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा स्थापित गराउने कुरामा कसैको विमति नरहने पनि उहाँले प्रस्ट्याउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चीरकालसम्म चिनून् र सम्झिरहून् भनेर महानगरपालिकाले सालिक निर्माण गरेको बताउनुभयो ।
‘उहाँहरुको योगदानलाई कतियय अवस्थामा हामीले बिर्सन चाहेर पनि बिर्सन सक्दैनौं । अझ उपत्यकाबासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्’, उहाँले भन्नुभयो– ‘हामीले उहाँहरुको सम्मानमा सालिक निर्माण गर्न पाउँदा खुसी छौं ।’
नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरले विसं २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकैठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए ।
साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किम्बदन्ती प्रचलित छ । विसं २०५६ मंसिर २ गते साख्वलाई राष्ट्रिय विभूति घोषित गरिएको थियो । साख्वको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’का रूपमा मनाउने गरिन्छ । कार्यक्रममा पद्मरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा सालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभएको थियो । बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिका उपप्रमख हरिप्रभा खड्गी श्रेष्ठलगायतले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्